काठमाडौं । सरकारले अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा धेरै एप्लिकेशन र वेबसाइट बन्द गरेको छ ।
अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्ने काम चलिरहेको र अहिलेसम्म १० हजारभन्दा धेरै बन्द भइसकेका नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेले जानकारी दिए ।

सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँगको समन्वयमा यस्तो कदम चालेको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चैत १५ गते मन्त्रीस्तरबाट प्राधिकरणलाई आवश्यक निर्देशन दिएको थियो ।
निर्देशनपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको जनाएको छ ।
सरकारले नेपालभर सञ्चालनमा रहेका सट्टेबाजी एप तथा वेबसाइट प्रयोग नगर्न तथा सञ्चालन नगर्न आग्रह गरेको छ । साथै कसैले अनधिकृत रूपमा यस्ता गतिविधि सञ्चालन वा प्रयोग गरेको पाइएमा सम्बन्धित निकायबाट कडा कानूनी कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।











