काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रीहरूले आ–आफ्नो सम्पत्तिमा करोडौँ मौज्दात, घरजग्गा, सेयरमा लगानीसम्म देखिएपछि रास्वपालाई मत दिएर जिताएका मतदाताहरूले जिब्रो टोकेका छन् । यति धेरै सम्पत्ति कहाँबाट आयो भन्ने विषयमा समेत उनीहरूले स्रोत खुलाउनुपर्नेछ ।

अन्यथा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सम्पत्ति शुद्धीकरणमा पर्नेछन् । जीवनमा पहिलो पटक प्रधानमन्त्री, मन्त्री भएका व्यक्तिहरू जेनजी विद्रोहपछि सत्तामा आएपछि उक्त विवरण पारदर्शी रुपमा आएकोमा कुनै शंका छैन । तर, कानुनले उक्त सम्पत्तिको स्रोत खोज्छ र वैध कमाइ भएका कर तिरेको हुनुपर्नेछ ।
सम्पत्ति विवरणमा मन्त्रीहरूले मोबाइल फोनदेखि बाख्रा, कुखुरा र कुकुरसमेत देखाएका छन् । धनाढ्य मन्त्रिपरिषद् रहेको उनीहरूले सार्वजनिक गरेको सम्पत्ति वितरणले देखाएको छ । उनीहरूसँग घरजग्गा, सेयर र सुनचाँदीका गरगहना प्रशस्त देखिएको छ । प्रधानमन्त्री शाहसँग सबैभन्दा बढी नगद मौज्दात र सुन पाइएको छ । बढी घरजग्गा अर्थमन्त्री स्वर्णिम वाग्लेको देखिएको छ भने गृहमन्त्री सुधन गुरुङको सम्पत्तिको वैधतामाथि प्रश्न उठेको छ ।
गृहमन्त्री गुरुङले धनकुटाको कार्कीछाप नगरपालिकामा १९ रोपनी १५ आना जग्गा, पिता दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कट्ठा पैतृक तथा बाजे रामसल गुरुङ तथा बाँडफाँट नभएको जग्गा गोरखाको चुमनुब्रीमा २२१ रोपनी उल्लेख गरेका छन् ।
२०२१ सालमा भूमिसुधार लागु भएपछि ्मधेशमा १० बिघा र पहाडमा ८० रोपनी हदबन्दी तोकिएको छ । हदबन्दीभन्दा बढी जग्गा सरकारले जफत गरेको थियो । तर, गृहमन्त्री गुरुङको हदबन्दीभन्दा बढी जग्गा देखिएपछि वैधताको प्रश्न उठेको हो ।
भूमि हदबन्दीसम्बन्धी प्रावधानले व्यक्ति वा परिवारले राख्न पाउने जमिनको अधिकतम सीमा निर्धारण गरेको छ । उक्त सीमाभन्दा बाहिरको जग्गा राखिएको पुष्टि भएमा राज्यले जफत गर्न सक्ने र सम्बन्धित व्यक्तिमाथि कारबाही अघि बढाउन सक्ने कानुनी व्यवस्था छ ।
‘पैतृक सम्पत्ति’ भन्ने दाबीले मात्र सम्पत्तिलाई वैध बनाउँदैन । यदि, पूर्वजहरूले नै कानुनविपरीत ढंगले जमिन आर्जन गरेको प्रमाणित भयो भने त्यसको उत्तराधिकारीले पनि स्वतः वैध अधिकार पाउँदैनन् । अवैध सम्पत्तिको प्रयोग गरेको पाइए कानुनी कारबाही भोग्नुपर्ने कानुनविद्हरू बताउँछन् ।
राजनीतिक वृत्तमा यस विषयले तरंग ल्याएको छ । कानुन सबैका लागि बराबर भएकाले नयाँ मन्त्रीहरूबाटै सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ । यसका साथै गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाख ५६ हजार २०० रुपैयाँ मूल्यको सेयर रहेको छ । उनको आफ्नै नाममा होप होल्डिङ्स प्रालिको ३० हजार थान सेयर, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको ५७ हजार थान, धितोपत्र बजारमा कारोबार हुने सेयरहरू २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको, एडभेन्चर भिल्ला प्रालिको सेयर ७० हजार थान रहेको छ ।
यी सबै सेयर खरिद व्यवसाय र पैतृक सम्पत्तिबाट किनेको गृहमन्त्री गुरुङले उल्लेख गरेका छन् । त्यसबाहेक ८९ तोला सुन र ६ किलो चाँदी पनि उनीसँग रहेको छ । उनीसँग नगद मौज्दात ६१ लाखभन्दा बढी देखिएको छ ।
लक्ष्मी बैंकमा ५ लाख ३५ हजार ४००, नबिल बैंकमा ५६ लाख २५ हजार ९७६ र सानीमा बैंकमा १ हजार ५७४ रुपैयाँ मौज्दात छ । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिको नाममा ४७ लाख ९९ हजार रुपैयाँ बराबरको गाडी गत असोजमा खरिद गरेको पनि देखाइएको छ ।
यस्तै, प्रधानमन्त्री शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ । फेसबुक, युट्युब, टिकटक लगायतबाट उनले आम्दानी गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको देखाइएको छ ।
उक्त गहनाको स्रोत पैतृक भएको उल्लेख गरेका छन् । काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नाममा ५ आना र धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख गरेका छन् । अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युब र टिकटक खाता रहेको जनाएका छन् ।











