काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसेका ४६ जना नेपालीलाई स्वदेश फिर्ता गरेको छ । दूतावासले ३० चैत र १ वैशाखमा कम्बोडियाबाट उद्धार गरिएका नेपालीलाई नेपाल फिर्ता पठाएको छ ।

उनीहरू प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेर अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनोमा अनलाइन ठगी र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र कम्बोडियामा बिनाभिसा बसिरहेका रहेका थिए । दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपालीहरूलाई पनि स्वदेश फर्काउने पहल भइरहेको जनाएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्कअनुसार पछिल्लो समय सन २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएका छन् । यस्तै सन २०२२ मा १९७७, सन २०२३ मा २९४०, सन २०२४ मा ६४०४ र सन २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिएको छ ।











