बागलुङ । गण्डकी प्रदेशअन्तर्गत बागलुङको बडिगाड गाउँपालिका–७ भिमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास गरिएको छ।

बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय राजदूतावास, काठमाडौं का द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा उक्त स्वास्थ्य चौकीको शिलान्यास गरेका हुन्।
भारत सरकारको करिब २ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत बडिगाड गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।
शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्षसहित सरोकारवालाहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै नयाँ संरचनाले स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकाससँगै समग्र विकास र समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।











