काठमाडौं । राप्रपाका नेता कमल थापाले विगतमा नेपालका कुनै पनि राजा वा नेताहरूले नेपालको पहिचानका सन्दर्भमा ‘बफर स्टेट’ शब्द प्रयोग नगरेको बताएका छन् । थापाले वास्तवमा ‘बफर स्टेट’ एक औपनिवेशिक अवधारणा भएका कारण नेपालका लागि कदापि स्वीकार्य हुन नसक्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी वाचापत्र र बालेन्द्र सरकारद्वारा प्रस्तावित ‘राष्ट्रिय प्रतिबद्धता पत्र’मा नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने नीति सार्वजनिक भएपछि यो विषय चर्चाको आएको हो । यदि राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त अवधारणा जानीबुझी वा कुनै नियतवश आएको हो भने त्यो अत्यन्तै आपत्तिजनक रहेको थापाको भनाइ छ । यसलाई सम्बन्धित पार्टी र सरकारले तत्काल सच्याउनु पर्ने उनले बताए ।
यद्यपि, आफूले शङ्काको सुविधा दिँदै बालेन्द्र सरकारको नीतिलाई फरक ढङ्गले बुझेको बताए । यसलाई दुई छिमेकी मित्रराष्ट्र भारत र चीनसँग सन्तुलित एवं सुमधुर सम्बन्ध कायम राख्दै नेपाललाई दुई देशबीचको गतिशील व्यापारिक केन्द्र बनाउने एउटा व्यावहारिक रणनीतिको रूपमा लिएको उनले बताए ।











