काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा उनले राजीनामाको घोषणा गरेका हुन् ।

धितोपत्र ऐनअनुसार बोर्ड अध्यक्षले राजीनामा सरकारसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोहीअनुसार श्रेष्ठले शनिबार अर्थमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिएका छन् । उनलाई सरकारले २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो ।
यसैबीच, शुक्रबारकै बैठकले हिमालयन सेक्युरिटिज (ब्रोकर नम्बर ९६)सँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । दीपक भट्ट र शाहिल अग्रवालसँग सम्बन्धित गैरकानुनी सेयर कारोबारमा संलग्न रहेको आशंकापछि बोर्डले उक्त निर्णय गरेको हो ।
दीपक भट्टको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा श्रेष्ठको नामसमेत जोडिएपछि सरकारले उनलाई राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो । सोहीअनुसार उनले पदबाट राजीनामा दिएका हुन् ।











