Logo
Logo

सर्वोच्चको फैसलापछि खड्का निवासमा देउवा पक्षको बैठक बस्दै


3k
Shares

काठमाडौं । विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई नै मान्यता दिने सर्वोच्च अदालतको फैसलापछि पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको अनौपचारिक बैठक आज बस्दै छ ।

The current image has no alternative text. The file name is: purna.jpg

तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा अपराह्न ४ बजे बस्ने उक्त बैठकमा अदालतको फैसलापछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुने नेता प्रकाशशरण महतले बताएका छन् ।

देउवा पक्षका अधिकांश नेता अदालतको अन्तिम फैसलापछि पार्टी एकताको पक्षमा उभिन थालेका छन् । उनीहरूले विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई स्वीकार गर्दै आगामी १५औँ नियमित महाधिवेशनतर्फ अघि बढ्नुपर्ने धारणा राखेका छन् । नेता महतले पार्टी एकताका लागि एउटा संयन्त्र गठन गरी साझा धारणा तय गर्न संवाद थाल्नुपर्ने बताए । उनले अदालतको फैसला अनपेक्षित भए पनि बृहत् पार्टी एकताको पक्षमा आफू रहेको उल्लेख गरेका छन् ।

देउवा पक्षभित्रै नेता विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइरालासहितका केही नेता विशेष महाधिवेशनलाई सहज रूपमा स्वीकार गर्ने पक्षमा देखिएका छैनन् । निधिले विशेष महाधिवेशनका नाममा स्वयं घोषणा गरिएको केन्द्रीय कार्यसमितिलाई आफूले स्वीकार नगर्ने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै शुक्रबार राति कान्तिपुरसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका थिए । उनले पनि समूहका सबै नेतासँग छलफलपछि साझा धारणा तय हुने बताएका छन् ।

विशेष महाधिवेशनको पक्षमा नउभिएको नेता शेखर कोइराला समूहको पनि आधिकारिक धारणा आइसकेको छैन । तर उक्त समूहले केही समयअघिदेखि तत्कालीन कार्यवाहक सभापति खड्काले अघि सारेका समानान्तर गतिविधिमा सहभागी हुन तथा त्यसको स्वामित्व लिन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्