Logo
Logo

आफ्नै कारणले हिरासत पुगेका गोल्छा


2.3k
Shares

काठमाडौं । उद्योगी व्यवशायीक घरानामा राम्रो सफलता हासिल गरिरहेका व्यवसायी शेखर गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा प्रहरीले पक्राउ गर्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले दिएको जनाकारी अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

चर्चित व्यापारिक विचौलिया दीपक भट्ट पक्राउ परेपछि गोल्छा सिआइबीको निगरानीमा त थिए, तर यति छिट्टै उनी पक्राउ पर्लान् भन्ने विश्वास उनी आफैँलाई लागेको थिएन । धेरै बाठो हुँदा कहिलेकाहीँ यस्तो घटना पनि हुन्छ ।

प्रहरीले उनलाई फोन गर्दा म भैरहवामा छु नभनेको भए सायद उनी पक्राउ पर्ने सम्भावना निकै कम थियो । प्रहरीले तपाईलाई हामीले निगरानीमा राखेका छौ बाहिर कतै नजानुस् भन्दाभन्दै भैरहवामा रहेको जानकारी प्रहरीलाई दिएपछि भारत जान लागेको हो कि भन्ने आशंकामा उनलाई नियन्त्रणमा लिनुपरेको स्रोतले बताएको छ । तर उनलाई प्रहरीले भैरहवाबाटै पिछा गरेर नक्सालस्थित कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

उनलाई पक्राउ गर्न गएको प्रहरीलाई पनि उनी आफँै आउने जानकारी दिइएको थियो । तर गोल्छा भैरहवाबाट काठमाडौँ आएपछि पनि प्रहरीको सम्पर्कमा नआएपछि उनी पक्राउ परे । प्रहरी, अस्पताल र विभिन्न सामाजिक संघ संस्थालाई करोडौ रुपैया सहयोग गर्दै आएका गोल्छाले आफू कुनै दिन प्रहरीको कष्टडीमा पुग्छु भन्नेपनि सोचेका थिएनन ।

उनले आफू पक्राउ पर्ने जानकारी प्रहरीको उच्च नेतृत्वलाई समेत दिएका थिए । प्रहरी नेतृत्वले पनि शुरुमा पक्राउ नगरी अनुसन्धान गर्न निर्देशन दिए पनि अचानक उनी भैरहवा पुगेको जानकारी पाएपछि भने शंकाको दृष्टिले हेरेको थियो । प्रहरीले उनलाई केही समय काठमाडौबाहिर नजान भनिएकोमा आफै जान्ने भएर भैरहवा पुगेपछि प्रहरीलाई पक्राउ गर्न आफैले बाध्यकारी बनाएको थिए ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाएको जनाएको छ ।

सोही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको छ । नेपाल प्रहरी ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनीमाथि थप अनुसन्धान जारी रहेको सिआइबीले जनाएको छ । यस घटनाले बीमा तथा पूँजी बजार क्षेत्रमा थप तरंग ल्याएको छ । नयाँ सरकार गठनसँगै मुलुकमा स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेक भएको भन्दै निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको प्रतिक्रिया दिएको छ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा पक्राउ परेपछि निजी क्षेत्रको प्रतिक्रिया आएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अवस्थाले निजी क्षेत्र निरुत्साहित भएको बताएका छन् ।

विज्ञप्तिमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याउँदै आएको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व र पूर्वाधार विकासमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ ।

नियामकीय निकायका प्रतिवेदनकै आधारमा उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै निजी क्षेत्रले आर्थिक कसुरका विषयमा ‘पहिले सुनुवाइ, त्यसपछि मात्रै कारबाही’को सिद्धान्त अवलम्बन गर्न सरकारसँग आग्रह गरेको छ । अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहँदा–रहँदै पनि पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित र दुःखी बनाएको उल्लेख छ ।
विगत चार वर्षदेखि शिथिल अर्थतन्त्रलाई नयाँ सरकारको नीति तथा व्यवसायीमैत्री व्यवहारले गतिशील बनाउने अपेक्षा गरिएको भए पनि पछिल्ला गतिविधिले लगानी वातावरणमा नकारात्मक सन्देश जाने जोखिम रहेको निजी क्षेत्रको भनाइ छ । तर सरकारले व्यवशायीहरुको कुरा सुन्नु भन्दा पहिला थुन्ने नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्