Logo
Logo

चीनसँग उत्कृष्ट व्यापार सम्झौता भएको ट्रम्पको दाबी  


504
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको अन्तिम दिन चीनका राष्ट्रपति सी जिनपिङसँग निर्णायक चरणको भेटवार्ता गरेका छन् । उक्त भेट बेइजीङस्थित झोङनानहाई परिसरमा भएको हो, जसलाई चीनको शीर्ष नेतृत्वको अत्यन्त सुरक्षित र गोप्य सत्ता केन्द्रका रूपमा लिइन्छ ।

भेटपछि ट्रम्पले चीनसँग ‘उत्कृष्ट व्यापार सम्झौता’भएको दाबी गरेका छन् । उनका अनुसार यी सहमतिबाट अमेरिका र चीन दुवै देशलाई फाइदा पुग्नेछ । उनले भनेका छन्- ‘हामीले केही उत्कृष्ट सम्झौताहरू गरेका छौँ, जसले दुवै देशका लागि राम्रो हुनेछ ।’ तर उनले ती सम्झौताबारे विस्तृत विवरण भने सार्वजनिक गरेनन् ।

अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापार, प्रविधि र सुरक्षाका विषयलाई लिएर तनाव रहँदै आएको छ । यद्यपि दुवै देश सम्बन्ध सुधार गर्ने प्रयासमा पनि रहेको देखिन्छ ।

भेटका क्रममा दुवै नेताका लागि विशेष लन्चको व्यवस्था गरिएको थियो । ह्वाइट हाउसका अनुसार भोजनमा समुद्री खाना सूप, कोड माछा, क्रिस्पी तथा स्टर फ्राई गरिएको लोब्स्टर, मशरूम भरिएको बीफ फिलेटलगायत परिकार समावेश थिए ।

ट्रम्पले आफ्नो चीन भ्रमणको अन्तिम समय बेइजीङस्थित सी जिनपिङको निजी निवासमा बिताएका छन्, जुन निषेधित सहर नजिक रहेको र अत्यन्त कम विदेशीले मात्र पहुँच पाउने स्थान मानिन्छ ।

विदेशी समाचार माध्यमका अनुसार ट्रम्पले त्यहाँ सी जिनपिङसँग लन्च गरेका थिए र त्यसपछि दिउँसो चीनबाट प्रस्थान गर्ने कार्यक्रम रहेको थियो । उनी करिब ४८ घण्टा अघि चीन पुगेका थिए ।

यसैबीच ट्रम्पले इरानबारे आफ्नो र सी जिनपिङको धारणा धेरै हदसम्म समान रहेको बताएका छन्। उनले दुवै देश इरानमा आणविक हतियार नहोस् भन्ने पक्षमा रहेको र समुद्री मार्गहरू खुला रहनुपर्नेमा सहमत भएको बताए ।

ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै सी जिनपिङले छोटो अवधिमा अमेरिकाले हासिल गरेका उपलब्धिको प्रशंसा गरेको दाबी पनि गरेका छन् । साथै उनले अमेरिका–चीन सम्बन्ध अझ मजबुत हुने आशा व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्