काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक माग गरेका छन् ।

सोमवार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रूपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन् । उनले सो प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन सरकारलाई आग्रह गरेका हुन् ।
उनले भने, ‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाई सकिएको छ । तर उक्त दस्ताबेज अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरूलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु ।’
उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएकोमा पनि सांसदहरूको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरूको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाइ गर्न नहुने बताए ।














