Logo
Logo

रास्वपा सांसदले भने-सत्तापक्षको अवस्था उदेक लाग्दो छ


504
Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिनकुमार आचार्यले प्रतिपक्षको रचनात्मक र आवश्यक सुझावलाई सरकारले हुबहु अस्वीकृत गर्ने विषय  राम्रो नभएको बताएका छन् । 

The current image has no alternative text. The file name is: bipin.jpg

सोमवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथिको सैद्धान्तिक छलफलमा बोल्दै आचार्यले प्रतिपक्षले पनि सरकारले ल्याएको राम्रो नीति तथा कार्यक्रमलाई पनि कर्मकाण्डी भनेर विरोध गर्नुपर्ने अवस्थाको अन्त्य हुनेगरी नियमावली बनाउनुपर्ने बताए । उनले संसद्मा सत्तापक्ष र प्रतिपक्ष एकले अर्काको जस्तोसुकै राम्रो प्रस्तावलाई पनि प्रस्ताव अस्वीकार गर्ने गलत भाष्यको अन्त्य हुनुपर्ने पनि बताए । 

उनले भने ,‘सत्तापक्षको अवस्था पनि उदेक लाग्दो छ । प्रतिपक्षले जतिसुकै रचनात्मक र आवश्यक संशोधन किन नराखोस, त्यसको गुण र दोषमाथि सार्थक छलफल नगरी ती हुबहु अस्वीकृत हुन्छन् । प्रतिपक्षको संशोधन स्वीकार गर्दा सरकारको दस्तावेज विटुलो हुन्छ भन्ने जुन एउटा अघोषित र गलत भाष्य यहाँ स्थापित छ । अब त्यसलाई तोड्नुपर्दछ । म बुझदछु-सरकार निर्माण, बजेट, अध्यादेशजस्ता केही आधारभूत प्राविधिक विषयहरुमा दलको ह्वीप अनिवार्य हुन्छ । र, त्यहाँ कित्ताकाँट जरुरी पनि हुन्छ । तर त्यो विषय भन्दा पर कानुन निर्माण र जनजीविकाको सवालमा सत्ता पक्ष र प्रतिपक्ष दुवैले दलीय चश्मा फुकालेर गुण र दोषको आधारमा निर्णय गर्न सक्ने पद्धति यो नियमावलीले समेटोस् ।’

आचार्यले कानुन निर्माण र जनजीविकाको सवाललाई दलीय आधारमा नभई गुण र दोषको आधारमा निर्णय गर्न सक्ने गरी संसदलाई अघि बढाउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्