काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालत पुगेर उनले पदभार ग्रहण गरेका हुन्। मंगलबार नै संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदित भएलगत्तै उनलाई राष्ट्रपति कार्यालयमा शपथ गराइएको थियो।
संवैधानिक परिषद्ले न्यायपरिषद्द्वारा सिफारिस गरिएका ६ जना न्यायाधीशमध्ये सर्वोच्च अदालतको चौथो वरीयतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो।
विगतको वरिष्ठताक्रमको परम्परा मिच्दै संवैधानिक परिषद्ले शर्माको नाम सिफारिस गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार एशोसिएशन लगायतले विरोध गरिरहेका छन्।
हाल सर्वोच्च अदालतमा सबैभन्दा वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल छिन्। वरिष्ठताका आधारमा उनी नै प्रधानन्यायाधीशको मुख्य दाबेदार थिइन्।
정कारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै प्रधानमन्त्रीले चाहेको व्यक्तिलाई सिफारिस गर्न सहज हुने वातावरण तयार पारेको थियो। ६ सदस्यीय संवैधानिक परिषद्मा ३ जना मात्र उपस्थित भएर पनि निर्णय गर्न सक्ने प्रावधान उक्त अध्यादेशमा राखिएको थियो। सोही अध्यादेशको जगमा बसेर संवैधानिक परिषद्ले बैठक गरी शर्माको नाम सिफारिस गरेको थियो।














