Logo
Logo

आज पनि चल्ला मेस्सीको जादु ?


0
Shares

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा डिफेन्डिङ विश्वकप च्याम्पियन अर्जेन्टिनाले अस्ट्रियाको सामना गर्दै छ । डलास स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार राति १०ः४५ बजे सुरु हुनेछ । 

The current image has no alternative text. The file name is: messi.jpg

समूह जे अन्तर्गतको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । यस खेलमा जित निकाल्ने टोलीले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाउनेछ ।

पहिलो खेलमा अल्जेरियामाथि प्रभावशाली जित हासिल गरेका अर्जेन्टिना कप्तान लियोनेल मेस्सीको नेतृत्वमा लगातार दोस्रो सफलता खोजिरहेका छ । अनुभवी स्टार मेस्सीले उद्घाटन खेलमा जादुमयी खेल खेलेका थिए । उनले विश्वकपमा पहिलो ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट लय कायम राखेका थिए । जसले अर्जेन्टिनालाई उपाधि रक्षा अभियानमा बलियो सुरुआत दिलाएको थियो ।

३८ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा दुई दशकभन्दा लामो यात्रालाई निरन्तरता दिँदै टोलीका लागि निर्णायक भूमिका खेलिरहेका छन् । उनको प्रदर्शनले उमेर केवल संख्या मात्र भएको सन्देश फेरि एकपटक दिएको छ । आजको खेलमा पनि मेस्सीको जादु चल्ने अपेक्षा गरिएको छ ।

यता, पहिलो खेलमा जोर्डनलाई पराजित गरेको अस्ट्रिया पनि उच्च आत्मविश्वासमा मैदान उत्रने छ । अस्ट्रियाका कप्तान डेभिड अलाबाले अर्जेन्टिनाको शक्ति केवल मेस्सीमा सीमित नभएको उल्लेख गर्दै सम्पूर्ण टोलीविरुद्ध सावधानी अपनाउनुपर्ने बताएका छन् । उनका अनुसार अर्जेन्टिनाको सामूहिक खेल नै टोलीको सबैभन्दा ठूलो बल हो ।

अर्जेन्टिनाका सहायक प्रशिक्षक पाब्लो आइमारले पनि अस्ट्रियालाई बलियो र प्रतिस्पर्धी टोलीको रूपमा चित्रण गर्दै खेल सहज नहुने बताएका छन् । उनले अस्ट्रियाको शारीरिक रूपमा मजबुत र दबाब सिर्जना गर्ने शैलीले चुनौती थप्ने उल्लेख गरे ।

समूह जे मा अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया र जोर्डन रहेका छन् । पहिलो खेलपछि अर्जेन्टिना र अस्ट्रिया समान तीन–तीन अङ्कसहित शीर्ष दुई स्थानमा छन् । गोल अन्तरका आधारमा अर्जेन्टिना अग्रस्थानमा रहेको छ ।

यसअघि अर्जेन्टिना र अस्ट्रिया प्रतिस्पर्धात्मक खेलमा आमनेसामने भएका छैनन् । दुवै टोलीबीच भएका दुई भेट भने मैत्रीपूर्ण खेलमा सीमित छन्, जसमा अर्जेन्टिनाले एक खेल जितेको र अर्को बराबरी खेलेको थियो ।

आजको खेल केवल तीन अङ्कको प्रतिस्पर्धा मात्र नभई समूह विजेताको दौडमा महत्त्वपूर्ण मोड साबित हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्