काठमाडौं । देशले आधुनिक पूर्वाधार विकासमा नयाँ फड्को मार्दै गर्दा नागढुंगा सुरुङमार्गको शिलालेखलाई लिएर विवाद सिर्जना भएको छ । सुरुङमार्गको शिलालेखबाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम मेटाइएको दाबी गर्दै एमालेका नेता तथा कार्यकर्ताहरूले विरोध जनाएपछि सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चुलिएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गर्दा अनावरण गरिएको शिलालेख आयोजना स्थलमा नदेखिएपछि एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्— “शिलालेखबाट नाम मेटिएला, तर इतिहास मेटिँदैन!” उनले सरकारमाथि निकृष्ट पूर्वाग्रह र प्रतिशोधको आरोप लगाउँदै ‘दुर्भाग्यपूर्ण पतन’को चेतावनीसमेत दिएका छन् ।
तर, यस विषयमा आयोजना पक्षको भनाइ भने फरक छ । सुरुङ निर्माणको काममा अवरोध पुग्ने भएपछि उक्त शिलालेखलाई सुरक्षाका लागि एक वर्षअघि नै झिकेर सडक विभागमा राखिएको आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले स्पष्ट पारेका छन् । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा भवनमा आगजनी हुँदा उक्त शिलालेखसमेत जलेको र हालसम्म फेला नपरेको पन्थीको भनाइ छ । हराएको शिलालेखको सट्टा नयाँ राख्ने वा नराख्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय भइसकेको छैन ।
राजनीतिक हिलोछ्यापाछ्यापकै बीच सोमबारदेखि सुरुङमार्ग सञ्चालनमा आउँदै छ । आयोजना निर्देशक सौजन्य नेपालका अनुसार पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आपत्कालीन सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइनेछ ।














