Logo
Logo

हिक्मतलाई राजीनामा दिन ओलीको दबाव, आज पुनः संवाद हुने


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच आज पुनः छलफल हुने भएको छ । एमालेभित्र कोशीको मुख्यमन्त्री फेर्ने विषयमा एक मत हुन नसकेपछि ओली आफैं सक्रिय भएका हुन् ।
आज दिउँसो छलफलको तयारी भएको एमाले कोशीले जनाएको छ । हिजो पार्टी पार्टी अध्यक्ष ओली र कोशीका अध्यक्ष घनश्याम खतिवडा तथा सचिव राजकुमार भण्डारीसँग मुख्यमन्त्री फेर्ने विषयमा छलफल भएको थियो । पदाधिकारीसँगको भेटघाटपछि मुख्यमन्त्री कार्कीले पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए ।

ओलीसँग भेटघाट गरेपछि पनि मुख्यमन्त्री कार्कीले राजीनामा दिने विषयमा सहमति नजनाएपछि आज पुनः भेटको तयारी भएको एक नेताले बताए । यद्यपी, कति बजे छलफल हुने भन्ने समय भने तोकिएको छैन ।

हिजो भएको भेटका क्रममा पार्टी अध्यक्ष ओलीले अहिलेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको लाइन भएको दोहो¥याए । पार्टी अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा कार्की भन्दा मेन्याङ्बो उपयुक्त पात्र भएको भन्दै अध्यक्ष र सचिवलाई त्यसरी नै लाग्न निर्देशन दिए । अध्यक्ष ओलीको निर्देशनपछि अध्यक्ष खतिवडा र भण्डारीले अध्यक्षको निर्देशन कार्यान्वयन हुने बताए ।

प्रदेश पार्टीका अध्यक्ष र सचिवसँगको भेटपछि मुख्यमन्त्री कार्की र अध्यक्ष ओलीका बिचमा ‘वान टु वान’ कुराकानी भएको थियो । कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले अहिलेको परिस्थितिमा मुख्यमन्त्री फेर्दा राम्रो सन्देश नजाने बताएका थिए । यसअघि एमाले सचिव तथा प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै मुख्यमन्त्री कार्कीको राजीनामा मागेका थिए ।

इन्चार्जले राजीनामा मागेपछि मुख्यमन्त्री कार्कीले संस्थागत निर्णय आवश्यक भएको भन्दै राजीनामा नदिने अडान लिएका थिए । मुख्यमन्त्री कार्कीले राजीनामा नदिएपछि राईले मुख्यमन्त्रीबाट कार्कीलाई हटाउने विषयमा विराटनगरमा प्रदेश सांसदहरूसँग छलफल गरिरहेका छन् ।

संविधानको धारा १६८(५) अन्तरगत मुख्यमन्त्री बनेका कार्कीले राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्तिको बाटो नदेखिएकाले ओलीको निर्देशन कार्यान्वयनमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्