
काठमाडौं । देशको सबैभन्दा पुरानो र ठूलो वीर अस्पतालमा मेडिकल माफियासँग मिलेर अवैध रूपमा सम्पत्ति जोडेको र अस्पताल प्रशासनमा अनाधिकृत हस्तक्षेप गरेको आरोपमा डा. दीपक कुमार मिश्रविरुद्ध विभिन्न निकायमा उजुरी दर्ता भएको छ ।
‘अस्पताल सुधार जेनजी अभियान’ ले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र सम्पत्ति शुद्धीकरण विभागमा अस्पतालको मुटुरोग विभागमा नवौँ तहमा कार्यरत सह–प्राध्यापक डा.मिश्रमाथि छानबिन र कारबाहीको माग गर्दै उजुरी दर्ता गराएको हो ।
वीर अस्पतालमा उपचार गराउँदा पीडित भएका एक अभियान्ताको नेतृत्वमा विभिन्न निकायमा दिइएको उजुरीमा डा. मिश्रले निमित्त निर्देशकलाई दबादमा राखेर अनधिकृत रूपमा ‘छाया निर्देशक’ बनेर खरिद, लेखा, प्रशासन र स्टोर शाखामा एकलौटी हस्तक्षेप गरेको उल्लेख छ ।
अस्पतालका कर्मचारी र वरिष्ठ चिकित्सकहरूका अनुसार डा. मिश्रले प्रहरी र प्रशासनमा आफ्नो पहुँच रहेको भन्दै धम्क्याउने, अस्पताल परिसरमै गुण्डा (मसल म्यान) हरू घुमाएर कर्मचारीलाई मानसिक तनाव दिने र कमिसन बुझाउने व्यापारीका बिलहरू मात्र पास गराउन लेखा शाखालाई अनुचित दबाब दिने गरेका छन् ।
उनले व्यापारीहरूसँग मिलेर करोडौं रुपैयाँ असुल गर्ने र भुक्तानी गर्दा १२ देखि १३ प्रतिशतसम्म कमिसन लिने गरेको आरोप छ । गत असारको पहिलो हप्ता मात्र अक्सिजन, चिया खाजा, फोहोरमैला व्यवस्थापन, लिफ्ट मर्मत, प्लास्टिक झोला खरिद र करार भुक्तानीका फाइलहरू फुकुवा गरेबापत उनले २२ लाख ५० हजार रुपैयाँ बिचौलिया रकम बुझेको उजुरीमा उल्लेख छ ।
त्यस्तै, गत हप्ता अस्पतालले गरेको करोडौँको भुक्तानी वापत डा. मिश्रले ललितपुरको एक नाम चलेको होटलमा व्यापारीलाई बोलाएर थप २३ लाख रुपैयाँ नगद कमिसन बुझेको दाबी गरिएको छ ।
यसका साथै, डा. मिश्र र उनकी पत्नी नताशा मिश्रको नाममा नियम विपरीत विभिन्न स्वास्थ्य संस्था तथा कम्पनीहरू दर्ता गरी स्वार्थको द्वन्द्व सिर्जना गरिएको भन्दै प्रचलित कानुन बमोजिम सम्पत्ति शुद्धीकरण र गैरकानूनी सम्पत्ति आर्जनमाथि निष्पक्ष छानबिन गरी कडा कारबाही गर्न माग गरिएको छ ।














