काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताहरुलाई अतिरिक्त ग्यास खरिद नगर्न अनुरोध गरेको छ। अध्यक्ष दिवान बहादुर चन्दले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्।

‘ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरुमा अनावश्यक रुपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको परिप्रेक्ष्यमा ग्यास अत्यावश्यक भएका उपभोक्ताले ग्यास नपाएर दौडधूप गर्नुपर्ने अवस्था सिर्जना भएको छ’, विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ उपभोक्ताहरुले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ।’
आगामी दिनमा पनि एलपी ग्यास आपूर्तिमा समस्या नहुने भएकाले ग्यासको अभाव हुने सम्भावना नै नरहेको चन्दको भनाइ छ। नेपाल आयल निगमको विशेष पहलमा भारतको विभिन्न रिफाइनरीहरुबाट सहजै हाल एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको संघले जनाएको छ। त्यसैगरी सहज रुपमा हाल एलपी ग्यासको आयातसँगै ग्यास उद्योगहरुबाट सिलिन्डर रिफिलिङ गरी बजारीकरण गर्ने कार्य पनि निरन्तर भइरहेको संघको भनाइ छ।
‘यस संघ विक्रेताहरुलाई घरायसी प्रयोगकर्ता उपभोक्ताहरुलाई प्राथमिकता राखी ग्यास बिक्री वितरण गर्न अनुरोध गर्दछ’, विक्रेताहरुलाई संघले भनेको छ।














