Logo
Logo

काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोर व्यवस्थापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने 


0
Shares

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले फोहोरमैला व्यवस्थापनलगायत समसामयिक विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल गर्ने भएको छ ।

मङ्गलवार बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीसँग तत्काल भेटवार्ता गर्ने निर्णय गरेको हो । फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका अनुसार यथाशीघ्र समय मागी उपत्यकाको फोहोर व्यवस्थापन, सडक बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि आवश्यक जग्गा व्यवस्थापन जस्ता विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइनेछ ।

उपत्यकाको फोहोर व्यवस्थापनका लागि तत्कालीन सरकार र नेपवेस्टबीच भएको सम्झौता कार्यान्वयन गर्ने वा सो सम्झौता खारेज गरी वैकल्पिक मार्ग अपनाउने विषयमा पनि निर्णय लिन फोरमले सरकारसँग आग्रह गर्ने महर्जनले बताए । फोहोर व्यवस्थापन तीनै तहका सरकारको साझा सरोकारको विषय भएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानमा स्थानीय सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यसका साथै भदौ ५ गते सिंहदरबारमा फोहोर व्यवस्थापनसम्बन्धी बसेको बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूसँग सांसद आशिका तामाङले गरेको व्यवहारप्रति पनि फोरमले आपत्ति जनाएको छ । प्रधानमन्त्रीसँगको भेटमा यो विषय पनि उठाइने महर्जनले बताए ।

अध्यक्ष महर्जनले भने, ‘मेयर्स फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर फोहोर व्यवस्थापनलगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । साथै भदौ ५ गते सिंहदरबारमा भएको बैठकमा सांसद आशिका तामाङबाट फोरमका पदाधिकारी र सदस्यहरूमाथि भएको दुर्व्यवहारप्रति पनि घोर आपत्ति जनाइनेछ ।’

बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै उपत्यकाभित्रको फोहोर व्यवस्थापनका लागि नेपवेस्टसँगको सम्झौता कार्यान्वयन वा खारेजीबारे फोरमको बैठकमा पटक९पटक छलफल हुँदै आएको थियो ।

अर्कोतर्फ, उपत्यकाको फोहोर विसर्जन हुने बञ्चरेडाँडाका स्थानीयवासीले १५ दिनभित्र आफ्ना माग पूरा नभए फोहोर रोक्ने चेतावनी दिइसकेका छन् । यही चेतावनीपछि फोरमले फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीसँग छलफल गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्