काठमाडौं । नेपालमा हालै भएको बाढीपहिरोको जोखिमबारे चीनले नेपाललाई समयमै पूर्वसूचना दिएन भन्ने आरोप लगाइरहेकै बेला नेपालस्थित चिनियाँ दूतावासले उच्च हिमाली क्षेत्रमा विपद्को जोखिम पहिचान, निगरानी र पूर्वानुमान आफैँमा जटिल विषय भएकाले सबै घटनाको पूर्वसूचना दिन सम्भव नहुने स्पष्ट पारेको छ ।

भोटेकोशीमा बाढी आएकै दिन अगस्ट २६ मा विपद्को अवस्थाबारे चीनको मौसम प्रशासन र नेपालको जल तथा मौसम विज्ञान विभागबीच आकस्मिक भर्चुअल बैठक भएको थियो । त्यहाँ के के कुराकानी भयो भन्नेबारेमा नेपाल सरकारले बताउन चाहेको छैन । बैठकमा विपद्को अवस्थाबारे मूल्यांकन गर्नुका साथै सम्बन्धित तथ्यांक आदानप्रदान गरिएको चीनले जनाएको छ ।
चीनले नेपालसँग जल तथा मौसमसम्बन्धी सूचना निरन्तर साझा गरिरहेको र सीमावर्ती क्षेत्रमा रहेका तालको निगरानीसम्बन्धी तथ्यांकसमेत उपलब्ध गराइरहेको जनाएको छ । दूतावासका अनुसार चीनको मौसम प्रशासनले ‘माजु’ नामक बौद्धिक मौसम पूर्वसूचना प्रणालीमार्फत नेपाललाई प्रारम्भिक चरणमा अनुकूलित सेवा उपलब्ध गराउन थालेको छ ।
विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालसँगको सहकार्यलाई चीनले महत्व दिएको दाबी गर्दै दूतावासले आगामी दिनमा दुई देशबीच सूचना आदानप्रदान, वैज्ञानिक अनुसन्धान र प्राविधिक सहकार्य गर्न तयार रहेको पनि जनाएको छ ।
हिमालय क्षेत्रमा विपद्का सम्भावित जोखिम क्षेत्र अत्यन्तै छरिएर रहेको उल्लेख छ । ४ हजारदेखि ५ हजार मिटर वा त्यसभन्दा माथिको उचाइमा ठूलो संख्यामा हिमताल तथा हिम–चट्टानका संरचना रहेकाले ती क्षेत्रमा नियमित स्थलगत निगरानी गर्न कठिन हुने भएकाले यसमा चीनको कुनै पनि दोष नरहेको स्पष्ट पारेको छ ।
चिनियाँ तथा अन्तर्राष्ट्रिय विज्ञहरूको अनुसन्धानलाई उद्धृत गर्दै दूतावासले उच्च हिमाली क्षेत्रमा तल्लो भूभागमा जस्तो व्यापक र नियमित स्थलगत सर्वेक्षण सम्भव नभएको जनाएको छ । ठाडो भूभागका कारण तस्बिर तथा उपग्रहबाट गरिने निगरानीमा पनि केही त्रुटि हुन सक्ने दूतावासको भनाइ छ । विशाल र जटिल हिमाली भूगोलमा उच्च सटीकताका साथ निरन्तर निगरानी गर्नु अन्तर्राष्ट्रियस्तरमै चुनौतीपूर्ण रहेको उसले जनाएको छ ।
दूतावासले सन् २०१५ को विनाशकारी भूकम्पलाई समेत हिमाली क्षेत्रमा विपद्को जोखिम बढाउने महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरेको छ । २५ अप्रिल २०१५ को भूकम्पले हिमालयको दक्षिणी ढलानका चट्टानी संरचनामा प्रभाव पारेकाले हिमाली भू–संरचनाको जोखिमबारे थप अनिश्चितता सिर्जना गरेको चीनको दावी छ ।
चिनियाँ विज्ञ टोलीहरूले उपलब्ध प्रविधिको सीमाभित्र रहेर जोखिमको निरन्तर निगरानी, मूल्यांकन र विश्लेषण गरिरहेको तथा महत्वपूर्ण सूचना नेपाली पक्षसँग समयमै आदानप्रदान गर्दै आएको दूतावासले दाबी गरेको छ । चीनले नेपालसँग सीमापार विपद् व्यवस्थापनका क्षेत्रमा नियमित सम्पर्क र सहकार्य भइरहेको पनि जनाएको छ ।
दूतावासका अनुसार गत मे महिनामा चीनको जलस्रोत मन्त्रालय र तिब्बत स्वायत्त क्षेत्रको जलस्रोत विभागका प्रतिनिधिले नेपाल भ्रमण गरेका थिए । भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग सीमापार विपद्सम्बन्धी सूचना आदानप्रदान गर्ने संयन्त्र स्थापना गर्ने विषयमा छलफल भएको थियो ।
त्यसैगरी अगस्टमा चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत पर्वतीय जोखिम तथा वातावरण संस्थानका विज्ञहरूको टोली नेपाल आएको थियो । टोलीले वैज्ञानिक अनुसन्धान तथा प्राविधिक आदानप्रदान गर्नुका साथै हिमताल निगरानीसम्बन्धी चीनको अनुभव नेपाली पक्षसँग साझा गरेको भएपनि नेपालले त्यसलाई किन गम्भीरतापूर्वक लिएन भन्ने कौतुहलता सिर्जना भएको छ ।














