Logo
Logo
कविता

बेनाम आमाहरु


189
Shares

मलाई कुनै पाठशालामा पढाइएन
मेरी आमाको नाम
मजेरीमै बन्धक राखियो
मेरी आमाको कहाली लाग्दो इतिहास
आँसुले सङघार पोतिए
लेखिएन आमाको बेदनाको गीत ।

म वंशजको नागरिक हूँ
नागरिकताा बाबुको नाम उल्लेख छ
कहि कतै देखिएन
जन्म दिने आमाको नाम
पतिको नागरिकतामा
भेटिएन पत्नीको नाम
पत्नीको नागरिकतामा
किन राख्ने पतिको नाम ?

कपाली तमसुक बाबुकै नाममा छ
लालपुर्जा बाबुकै नाममा छ
सृष्टिकर्ता आमाको नाम
किन राखिएन तमसुकमा ?
किन राखिएन लालपुर्जामा ?
मैले मेरो शैक्षिक प्रमाण पत्र हेरें
त्यहाँ पनि बाबुकै नाम मात्रै उल्लेख छ
विद्यालयले पक्षपात नगर्नु पर्ने
विवेक नगुमाउनु पर्ने
जानेर वा नजानेर
विद्यालय पनि पितृसत्तामक सोचमा फसेको छ ।

मेरो पहिचान
बाबुले मात्रै नहुनु पर्ने
म चाहान्छु नागरिकतामा
मेरी आमाको नाम
म चाहान्छु घर घडेरीमा
मेरी आमाको स्वामित्व ।

‘जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी’
ओठे भक्ति गाउन लगाएर
शिक्षक जुँघा मुसार्छ
उसलाई पनि थाहा छैन
जन्म दिने आफ्नै आमाको नाम ।

बेनाम आमाहरु
सृष्टि धानि रहेछन
पिर व्यथा पचाएर
सन्तानको सुरक्षित भविष्य खातिर
निरन्तर मर्दै र जल्दै ।

श्रीमान !
म आमाको नाम खोजि रहेछु
गरिदिनोस फैसला
अब उप्रान्त
नागरिकतामा आमाको नाम राख्ने आदेश
विद्यालयका पाठ्यक्रमहरुमा
आमाको इतिहास राख्ने आदेश
लालपुर्जामा तस्विर सहित
आमाको नाम राख्ने आदेश
अनि गरि दिनोस फैसला
पैतृक सम्पत्तिमा समान अधिकार हुने आदेश
र बाबु आमाको काज किरियामा समान हैसियतको आदेश ।

सुन्दरहरैंचा –६, दुलारी, मोरङ

प्रतिक्रिया दिनुहोस्