Logo
Logo

बाजुरामा विद्यार्थीहरुको बिजोग : कता हरायो, तीन तारा योजना ?


- नन्दा थापा/बाजुरा


  • नन्दा थापा/बाजुरा

बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमध्ये सदरमुकाम मार्तडीमा रहेको नगरपालिका हो बडिमालिका नगरपालिका । यस नगरपालिकामा २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्म सबै विद्यालयलाई बालमैत्री बनाउने उद्देश्यका साथ तीन ताराको अवधारणाअनुरुप काम गर्दै आएको छ । तर बालबालिकाको हितलाई ध्यानमा राखी भौतिक संरचनाको व्यवस्थापन कत्ति पनि गरेकोे पाइँदैन । जसले गर्दा विद्यालयमा बालबालिकाहरुको सिकाई प्रभावित हुने गरेको छ । एक रिपोर्ट :

बाजुराका अधिकांश विद्यालय बालबालिकाका लागि सहज छैनन् । सदरमुकाम मार्तडी बजारको बीचमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा पढ्न बालबालिकाहरु २ घण्टा पैदल हिंडेर आउँछन् । हिँड्न नसक्नेहरु पढाइबाट बञ्चित मात्र छैनन्, असुरक्षित पनि छन् । अभिभावक धर्मा थापा भन्छिन्, “हामी अब लेकमै बस्छौँ छोराछोरीलाई स्कुल जाउ भन्यो सकियो, रेखदेख गर्ने फुर्सद छैन, पढाउन हामी जान्दैनौं ।”

बडिमालिका नगरपालिका ८ मा रहेको मष्टेश्वरी आधारभूत विद्यालय राजमार्गको छेवैमा छ । बाहिर झट्ट हेर्दा भौतिक संरचना राम्रै छ । वर्ष वर्ष भौतिक संरचना निर्माणको नाममा रकम निकासा भएको भएको छ । तर भित्र हेर्दा चिसो कार्पेटमा विद्यार्थी अध्ययन गरिरहेका छन् । कक्षाका दुईका विद्यार्थी गणेश रावल भन्छन्, “आफैले घरबाट आछ्याउने कट्टा ल्याउछौं, विद्यालयबाट फर्किने बित्तिकै घर लैजान्छौं ।” कक्षा ५ सम्मको पढाइ हुने विद्यालयमा दुईवटा मात्र शौचालय छन् । त्यसमा पनि एउटा मात्र शौचालय प्रयोगमा छ एउटा बन्द अवस्थामा छ ।

बडिमालिका नगरपालिकाले नगरभित्रको शैक्षिक स्थितिमा सुधार ल्याउन विद्यालयमा तीन ताराको अवधारणाअनुसार काम गरेको एक वर्ष पूरा भयो । अबको २ वर्ष अर्थात सन २०२२ सम्म तीन वटै तारा पूरा गर्ने नगरपालिकाको योजना छ । तीन तारा प्राप्त गर्ने विद्यालयले बालबालिकाका लागि पर्याप्त सुविधा सहितको भौतिक संरचना निर्माण गरेको हुनुपर्नेछ ।

यद्यपि, अहिले नगरपालिका भित्रका विद्यालयमा त्यस्तो कुनै सुविधा देखिँदैन । चर्पीमा ढोका छैन भने बालबालिकाले आफै धाराबाट पानी बोकेर शौचालय जानुपर्ने अवस्था छ । २० जनाको लागि एउटा शौचालय हुनुपर्ने मापदण्ड तोकिएकोमा अहिले ९७ जना बालबालिकाका लागि एउटा मात्र शौचालय हुँदा घरमा आएर शौच गर्नुपर्ने बाध्यता बालबालिकाहरुको छ ।

मष्ेटश्वरी आवासीय विद्यालय रापकका शिक्षिका हेमकला रावल भन्छन्, “विद्यार्थीलाई नजाउ भन्नु पनि भएन, उनीहरुलाई ट्वाइलेट लागिहाल्छ, बच्चाहरुले पुग्ने चुकुल छैन, अस्ति एक जना विद्यार्थीलाई तीन लगातार पखाला लाग्यो घर पठाएका छौं ।”

नगरपालिका भित्रका सबै विद्यालयमा बालमैत्री संरचनाका लागि आवश्यक पर्ने आधारहरु केही पूरा भएको देखिंदैन । नगरपालिकाले तीन ताराको मापदण्ड पूरा गर्नका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७ लाई आधार बनाएर १० वटा सुचक तय गरेको छ ।

नगरपालिकाले नगरभित्रका २५ वटै सामुदायिक विद्यालयहरुले पहिलो तारा पूरा गरिसकेको दाबी गरे पनि विद्यालयको अवस्था फरक छ । विद्यालयमा अहिले पनि गाउँबाट खानेपानी बोकेर पु¥याउनुपर्ने बाध्यता छ । कैलाश आवासीय विद्यालयका प्रधानाध्यापक धनबहादुर कार्कीले भने, “पानीको अपर्याप्तता नै छ, बर्खाका तीन महिनामा नजिकैको खोलाको पानी पिउँछौँ, बाँकी ९ महिना बोकेरै विद्यालयमा पानीको व्यवस्था गछौं, शौचालयमा पनि बोकेरै पानीको व्यवस्था गछौं, विद्यार्थीलाई गिलासको व्यवस्था गरेका छौं ।”

बालबालिकाको शिक्षासम्बन्धी अधिकारलाई सुनिश्चित गर्न विद्यालय पु¥याएर मात्र पुग्दैन, उनीहरुको इच्छाअनुसार सहज वातावरणमा पठनपाठन गराउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । बालअधिकारसम्बन्धी महासन्धिले सबै बालबालिकाहरुको सर्वाङ्गीण विकासका लागि बिना कुनै भेदभाव गुणस्तरीय शिक्षा पाउनुपर्ने कुरामा जोड दिएको छ ।

नेपालको कानुनले पनि सुरक्षित वातावरणमा पढ्न लेख्न पाउनुपर्ने बालबालिकाको अधिकारलाई सुनिश्चित गरेको छ । यद्यपि, बाजुराका अधिकांश विद्यालय बालबालिकाका लागि सहज छैनन् । सदरमुकाम मार्तडी बजारको बीचमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा पढ्न बालबालिकाहरु २ घण्टा पैदल हिंडेर आउँछन् । हिँड्न नसक्नेहरु पढाइबाट बञ्चित मात्र छैनन्, असुरक्षित पनि छन् । अभिभावक धर्मा थापा भन्छिन्, “हामी अब लेकमै बस्छौँ छोराछोरीलाई स्कुल जाउ भन्यो सकियो, रेखदेख गर्ने फुर्सद छैन, पढाउन हामी जान्दैनौं ।”

बालबालिकाका लागि अनिवार्य शिक्षा भनेर बालमैत्री विद्यालयको अवधारणा अघि सारिएको छ । यद्यपि बाजुराका विद्यालयको भौतिक संरचना हेर्दा बालमैत्री विद्यालयको झल्को समेत पाईदैन । बालमन्दिर आवासीय विद्यालयकी शिक्षिका राधा भट्ट भन्छिन्, “म १, २, र ३ कक्षालाई सँगै राखेर अध्यापन गराउने गरेको छु, इसिडीको मेडमले इसिडीलाई हेर्नुहुन्छ, १ र २ भए पनि सजिलो हुन्थ्यो, बस्ने ठाउँ छैन, एकै ठाउँमा राख्दा सबैलाई समेट्न नसक्दा बजारतिर हेरिहाल्छन्, अनि मैले विद्यार्थीलाई समेट्न सक्दैनौं भनेर गाली पाइन्छ ।”

बालमैत्री सिकाइ वातावरणका लागि आवश्यक पर्ने पूर्वाधारमध्ये विद्यालयको भौतिक अवस्थासबै भन्दा महत्वपूर्ण पक्ष हो । विद्यालयको भौतिक पूर्वाधार भन्नाले विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर शौचालय, खानेपानीलगायत अन्य धेरै कुरा पर्छन् । बाल मन्दिर विद्यालयमा भौतिक संरचनाको नाममा रहेको विद्यालय भवन पनि जिर्ण अवस्था छ । विद्यालयका प्रधानाध्यापक सुसिला बुढथापा जसले गर्दा विद्यार्थीको पढाइ प्रभावित भइरहेको बताउन् ।

उनी भन्छन्, “भौतिक व्यवस्था एकदम कमजोर छ, भौतिक व्यवस्था नहुदा दुई ठाउँ कक्षा सञ्चालन गर्नुपरेको छ, विद्यालयको भवन भिरालो ठाउँमा छ, वर्षवर्षै पहिरो जान्छ, बर्खाका दिनमा विद्यालय सञ्चानल गर्नै हुँदैन, सरकारको नीतिअनुसार १ देखि ३ सम्म बालमैत्री हुनुपर्छ तर मेरो विद्यालय बालमैत्री छैन, बालमैत्री हुनको लागि हुनुपर्ने मापदण्ड मेरो विद्यालयमा कुनै पनि छैन ।”

बाजुराका अधिकांश विद्यालयहरुको भौतिक व्यवस्थापन अपेक्षितरुपमा बालमैत्री भएको पाइँदैन । परिणाम स्वरुप बालबालिकाहरुले गुणस्तरीय शिक्षा पाउन सकिरहेका छैनन् । सदुरमुकाम मार्तडीमा रहेको मालिका नमुना विद्यालयका प्रधानाध्यापक शुभराज पाध्याय भन्छन्, “हामीसँग २ हजार विद्यार्थी छन्, त्यो बालमैत्री विद्यालय मापदण्डको तालमेल नै छैन, बाध्यकारी अवस्थामा २ हजार विद्यार्थीलाई १० वटा चर्पीमा प्रयोग गर्न लगाइएको छ, त्यो मेरो विद्यार्थीका लागि प्रयाप्त होइन ।”

बडिमालिका नगरपालिकामा रहेका २५ वटा सामुदायिक विद्यालयमा २ हजार ७ सय १८ जना विद्यार्थी अध्ययनरत छन् । नगरपालिकाले सन् २०२२ सम्म सबै विद्यालयलाई बालमैत्री बनाएर पठनपाठनको ब्यवस्था गर्ने भनेर तीन ताराको अवधारणा अनुरुप काम शुरु गरेको पनि एक वर्ष पूरा भईसकेको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर कटुवाललाई यस अवधिमा विद्यालयहरुमा कस्तो उपलब्धि भयो त ? भन्दा यसो भन्छन् “राम्रो बडिमालिका नगरपालिकामा जीरोमा कोही पनि विद्यालय छैन, ३ तारको अवधारणा ल्याएका छौं, त्यसमा एक तारा सबै विद्यालयका पूरा भएको छ, हामीले ३ वर्षमा विद्यालयलाई बालमैत्री संरचना निर्माण गरिसक्ने छौं भन्ने योजना ल्याएका छौं, हामीले ३ ताराको अवधारणा पूरा गर्न नगरपालिकाका ८ वटा माविबाटै सुरुवात गरेका छौं, माविलाई एक ताराबाट २ तारामा उकाल्ने प्रयासमा छौं, भौतिक संरचनालाई बढी ध्यानमा राखेर काम गरेका छौं ।”

तीन ताराकै आवधारणा अनुरुप नगरपालिकाभरिका विद्यालयलाई बालमैत्री बनाउन मावि तहबाटै सुरु गरिएको बताउँछन्, नगरप्रमुख पदम बडुवाल । उनी भन्छन्, “सबै विद्यालयमा एकनासको तरिकाले लागेका छौं, बढी ध्यान माविलाई दिएका छौं, अहिले त हामी नगरप्रमुख भएको ३ वर्ष मात्र भयो, बालमैत्री नै विद्यालय बनाउन १० वर्ष लाग्छ हाम्रो सुरुवात भएको छ ।”

२०७४ सालको तथ्यांकअनुसार, बाजुरामा २ सय २३ वटा प्रारम्भिक बाल विकास केन्द्र, १ सय ७६ वटा आधारभुत विद्यालय र ६३ वटा माध्यमिक विद्यालय छन् । ती सबै विद्यालय बालमैत्री संरचना निर्माणको प्रक्रियामा रहेको बताउछन्, शिक्षा विकास समन्वय ईकाईका नि. कार्यलय प्रमुख रमेशबहादुर जनाल । उनले भने, “हाल जिल्लाका सम्पुर्ण विद्यालयमा बालमैत्री संरचनामा कक्षा सञ्चानल भईरहेका छन् र तर यताकता भौगोलिक कठिनाई, पुस्तकालयको व्यवस्थापन नहुनु, विद्यार्थीको चापअनुसार भौतिक संरचना निर्माण गर्न सकिएको छैन, विद्यालयमा बसाई व्यवस्थापन गर्न सकिएको छैन, उद्देश्य अनुरुप जो बालमैत्रीको ढाँचा हुनुपर्ने हो त्योअनुसार विद्यालयलाई तयार गर्न सकेको छैन ।”

मुलुक संघीय संरचनामा गएर स्थानीय तह गठन भएको पनि ३ वर्ष पूरा भइसकेको छ । विद्यालय सञ्चालन गर्ने अधिकार पनि स्थानीय तहमा आएको छ । यद्यपि, यस अवधिमा विद्यालयहरुको भौतिक संरचनामा खासै परिर्वतन देखिएको छैन । “बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप २०६७” ले बालबालिकाकाको शैक्षिकस्तर उकास्न भवन तथा कक्षाकोठा, शौचालय, खानेपानी, स्वास्थ्य जाँच कक्ष, विद्यालयसम्म आइपुग्ने बाटोलगायतलाई बालमैत्री विद्यालयको सूचक मानेको छ । योजना र कानुनमा रहेका बालमैत्री प्रावधानहरुलाई ब्यवहारमा लागू गर्न सकेमात्र हरेक विद्यालयका बालबालिकाहरुले सहज वातावरणमा गुणस्तरीय शिक्षा पाउन सक्नेछन् । त्यसका लागि विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी पाएको स्थानीय सरकारको नेतृत्व अग्रसर हुनुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्