Logo
Logo

बारको चुनावले दुवै पार्टीमा भाँडभैलो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ माघ । आगामी चैत १३ मा हुन गइरहेको नेपाल बार एशोसिएसनको निर्वाचनका लागि कानुन ब्यवसायीहरु उम्मेदवार चयनमा जुटेका छन् । नेपाल बारको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेस निकट कानुन ब्यवसायीहरुबीच तीव्र प्रतिस्पर्धा छ ।

विजयकान्त मैनाली, हरिप्रसाद उप्रेती र रमणकुमार श्रेष्ठ

पूर्व एमाले–माओवादी एकतापछि पुनर्गठन भएको नेकपा निकट नेपाल लयर्स एशोसिएसन(एनएलए) र कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) ले बारको नेतृत्वका लागि उम्मेदवार चयन गर्न नसकेपछि पार्टी नै गुहारेका छन् । एनएलएले बारको अध्यक्ष र महासचिव तय गर्न नसकेपछि पार्टीलाई जिम्मा लगाएको थियो । तर नेकपाको सचिवालयले पनि बारको उम्मेदवार टुंगो लगाउन नसकेपछि आइतबार पुनः एनएलएतिरै फर्काइदिएको छ ।

पूर्व एमालेका कानुन विभाग प्रमुख रघुजी पन्त र माओवादीका तर्फबाट ऊर्जामन्त्री बर्षमान पुन बारको उम्मेदवार टुंग्गाउन एनएलएको ४५ सदस्यीय कमिटीसँग दिनहुँ बैठक बसिरहेका छन् । एनएलएका तर्फबाट नेपाल बारको अध्यक्षमा बिजयकान्त मैनाली, हरि उप्रेती र रमणकुमार श्रेष्ठको नाम प्रस्तावित छ । यीमध्ये मैनाली र उप्रेती पूर्व एमाले निकट हुन् भने श्रेष्ठ माओवादी समर्थक हुन् । रमण श्रेष्ठ अघिल्लो कार्यसमितिको निर्वाचनमा एमाले–माओवादीबीच आफूलाई यो पटक अध्यक्षमा उम्मेदवार बनाउने सहमति भएको जिकिर गरिरहेका छन् । पूर्वएमालेहरु भने त्यतिबेला एमाले र माओवादीबीच कसैलाई अध्यक्ष बनाउने सहमति नभएको तर्क गरिरहेका छन् ।

पूर्व एमालेहरु बिजयकान्त मैनाली अघिल्लो पटक पराजीत भएकाले उनलाई सहानुभूतिको मत आउने भन्दै उनलाई उम्मेदवार बनाउने पक्षमा छन् । उनी यसअघि पराजीत भएकाले हरि उपे्रेतीलाई उम्मेदवार बनाउन पनि बरिष्ठ अधिवक्ता शम्भु थापाहरुको समूह लागेको छ । त्यसो त मैनालीको पक्षमा एमालेभित्र कानुनका किङ दाबी गर्ने पूर्वसभामुख सुवास नेम्वाङ, महान्यायाधीवक्ता अग्निप्रसाद खरेलहरु सक्रिय रुपमा लागेका छन् । मैनाली र उप्रेती दुबै एमालेभित्रको गुट राजनीतिमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नै हुन् । तर मैनालीलाई नेम्वाङ र खरेलले च्यापेकाले माधव नेपाल पक्षले हरि उप्रेतीप्रति सहानुभूति देखाइरहेको बताइन्छ ।

वाम समर्थक कानुन ब्यवसायी समूहको समर्थनमा नेपाल बारमा २ पटक पराजीत भएका विश्वकान्त मैनाली तेस्रो पटकमा जितेका थिए । हरिकृष्ण कार्की पनि एकपटक हारेर अर्को पटक अध्यक्ष भएका थिए । त्यस्तै शम्भु थापा एकपटक पाइसकेको टिकट खोसिएर दोस्रो पटक उम्मेदवार भई जितेका थिए । यही तर्कका आधारमा मैनालीलाई यो पटक बारको अध्यक्षमा टिकट दिलाउन एमालेको कानुन क्षेत्रको जिम्मा पाएका सुवास नेम्वाङसहितका नेताहरु लागेका छन् ।

पूर्वमाओवादीभित्रबाट रमणकुमार श्रेष्ठले अध्यक्षमा दाबी गरिरहेका भए पनि उनलाई पूर्वएमाले पंक्तिले पटक्कै नरुचाउने स्थिति छ । त्यस्तो स्थिति देख्दादेख्दै उनलाई टिकट दिएर नेकपाको नेतृत्वमा दुई तिहाई सरकार भएको बेला बार कांग्रेसको हातमा गए त्यसको जिम्मेवार को हुने भन्ने सवाल एनएलएभित्रै उठिरहेको छ ।

त्यसैगरी नेपाली कांग्रेसनिकट डीएलएले पनि बारको उम्मेदवार चयन गर्न सकेको छैन । डीएलएको उम्मेदवार सिफारिस समितिका सबै पदाधिकारीले ब्यक्तिपिच्छे उम्मेदवार बोकी हिंड्दा भाँडभैलो मच्चिएको छ । बरिष्ठ अधिवक्ता हरिहर दाहाल र प्रेमबहादुर खड्काले अध्यक्षका लागि माधव बाँस्कोटालाई च्याप्दा बाँकी सदस्यहरुलाई पचेको छैन । यसअघिका बारको चुनावमा अन्तर्घात गर्ने भनेर भित्रभित्रै बाँस्कोटाको बिरोध भइरहेको छ । आफू महासचिवमा लड्दा आफ्ना अध्यक्षका उम्मेदवार यज्ञमूर्ति बन्जाडेलाई हराई शम्भु थापालाई जिताउन साँठगाँठ गरेको आरोप बाँस्कोटामाथि लाग्ने गरेको छ ।

अध्यक्षका अर्का उम्मेदवार सुनिल पोखरेल संगठनमा मजबुत र पेशामा काबिल मानिए पनि कनिष्टलाई दिनु नहुने पक्षमा बरिष्टहरु लागेका छन् । कनिष्टलाई दिंदा भोलिदेखि आफ्नो पालो नआउला भन्ने त्रासले डीएलएका बरिष्ठहरु भयभीत छन् । त्यसकारण सिफारिस समिति नै अन्योलमा परेको छ । डीएलएमा पनि अन्तिममा कांग्रेसले नै हस्तक्षेप गर्ने स्थिति निम्तिने भएको छ ।

डीएलएबाट महासचिवमा युवराज भण्डारी, मेघराज पोखरेल, एघराज पोखरेल, लीलामणि पौडेल, सागर बिष्ट र अरुण ज्ञवालीले दाबी गरिरहेका छन् । भण्डारी नाताले हरिहर दाहालका साला हुन् । मेघराज पोखरेललाई डीएलएभित्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको स्तुतिगान गरेको आरोप लाग्ने गरेको छ ।

चौधरी ग्रुपका कानुनी सल्लाहकार पोखरेललाई महासचिव बनाउन विनोद चौधरीले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग लबिङ गरिरहेका छन् । मेघराजको लागि गोविन्दराज जोशीका कानुन ब्यवसायीका रुपमा चिनिने उपेन्द्रकेशरी न्यौपानेले पनि जोडबल गरिरहेका छन् । एघराज पोखरेलले मेघराजलाई छाड्नका लागि दाबा गरेको चर्चा पनि डीएलएभित्र हुँदैआएको छ ।

त्यसैगरी, काठमाडौं जिल्ला बारको अध्यक्ष हुँदै नेपाल बारको केन्द्रीय सदस्य भइसकेका लीलामणि पौडेल कसैलाई नबिझाउने र कुनै गुटउपगुटमा नलाग्ने भनेर चिनिन्छन् । सागर बिष्ट काभ्रेबाट पेशा ब्यवसाय सुरु गरे पनि नेपाल बारको केन्द्रीय सदस्यमा अत्यधिक मतका साथ जितेका थिए । कांग्रेसका महासमिति सदस्य अरुण ज्ञवाली डीएलएको पूर्वकोषाध्यक्ष पनि हुन् । उनी हाल बारमा भन्दा कांग्रेसको राजनीतिमा बढी सक्रिय रहेका छन् । डीएलएमा पार्टीको प्रभाव पर्ने हो भने ज्ञवालीले बारको महासचिवको टिकट पाउने संभावना देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्