काठमाडाैं, ८ फागुन । पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डमा सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै गौरिका र मन्देलाई सर्वोत्कृष्ट घोषित गरेको हो ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश खेलका २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो ।

उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । तीनै उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट खेलाडी छनोट गरिएको एनएनआइपिएले जनाएको छ ।
गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं सागमा गौरिकाले ४ स्वर्ण पदक जितेकी थिइन् । सागको एकै संस्करणमा ४ स्वर्ण पदक जित्ने गौरिका पहिलो नेपाली हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्णसहित ९ पदक जितेकी थिइन् ।
मन्देकाजीले १३ औं सागमा दुई स्वर्ण जितेका थिए । आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण पदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा मन्देले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्ण पदक जितेका थिए ।
पुसमा आयोजना भएको पल्सर स्पोर्टस अवार्डमा गौरिका वर्षकी उत्कृष्ट खेलाडी महिला र मन्दे वर्षका उत्कृष्ट खेलाडी चुनिएका थिए । मन्देले युवा तथा खेलकुद मन्त्रालयबाट प्रदान गरिएको प्रतिभा पुरस्कार समेत प्राप्त गरेका थिए ।
गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे । एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा रहेको छनोट समितिले सर्वोत्कृष्ट खेलाडीको छनोट गरेको थियो ।











