Logo

फागुण ७ को कर्मकाण्डि समारोह र देवकोटाको यात्री भिखारी


- दृष्टि न्युज/संवाददाता



गणतन्त्र आइसकेपछि पनि फागुण ७ गतेको समारोह कर्मकाण्डि प्रकारको रहनु दुखद कुरा हो । सात सालको सशस्त्र क्रान्तिको सम्झनामा तथा त्यस क्रान्तिको दौरानमा सहिद भएकाहरुको सम्मान र सम्झनामा यो दिवस नयाँ ढंगले मनाउन सकिन्थ्यो । तर गणतन्त्रको वहुमतीय नेकपा सरकारको पालामा पनि यो दिवस कर्मकाण्डि तरिकाले मनाइयो ।

सैनिक मन्चमा ठुलावडाहरु जम्मा हुनु, लाखौं खर्च गरेर ल्याइएका झाँकीहरु ठुलावडा सामु देखाउनु, लाखौं खर्च गरेर हेलिकोप्टरले पुष्पवृष्टि गर्नु, परेवा उडाउनु, बेलुन उडाउनु, भाषण गर्नु आदि, यस्तो कर्मकाण्डि तरिका नै यसपाली पनि दोहरियो ।

देवकोटाको यात्री कविता र भिखारी कविता सबै ठुला वडाले पढेका नै छन् । लोकतन्त्र, गणतन्त्र, समाजवाद र साम्यवादका ठेलीहरु उनीहरुले पढेकै थिए । लोकतन्त्र देखि साम्यवादका सिद्धान्तहरु विर्सेपनि गणतन्त्रका शासकहरुले देवकोटाको यात्री र भिखारी कविता मात्रै पनि सम्झि दिने हो भने केही राम्रा जनपक्षीय कामहरु हुने थियो ।

विगतमा राजा महाराजा पंच तथा मण्डलेहरुले शोषण विहीन समाज श्रृजना गर्ने, एशियाली मापदण्डमा नेपाललाई पु¥याउने, आधारभूत आवश्यकता पुरा गर्ने, विकासको मूल फुटाउने आदि भाषणहरु यही दिनमा सोही स्थानवाट फलाकेको जनताले विर्सेका छैनन् ।

अहिले बुर्जुवा गणतन्त्रका शासकहरुले फागुन ७ को महिमा वारे भाषण गरिरहंदा सय मिटरको दूरीमा देवकोटाका भिखारी कविताका नयाँ पात्रहरु चिसो सडकमा माग्न वसिरहेका थिए । लाखौं खर्च गरेर कर्मकाण्डि तरिकाले पहिला राजा महाराजा पंच मण्डलेहरुले फागुण ७ गतेकाे समाराेह कर्मकाण्डि तरिकाले मनाउँथे । गणतन्त्रका शासकहरूलेपनि फागुन ७ को समारोह कर्मकाण्डि तरिकाले गर्नु भन्दा देवकोटाको यात्री कविता सम्झेर सडकको चिसोमा माग्न वसेका ती दुखी जनतालाई रोजगारी वा राहत दिएको भए नयाँ शुरुवात भएको मानिने थियो ।

नीतिगत रुपमा फागुन ७ मा नयाँ जनपक्षीय घोषणा केही भएको भएपनि जनता खुशी हुने थिए । तर प्रधानमन्त्रीका सल्लाहकार र खानेपानी सचीव कै भ्रष्टाचारको कारण मेलम्ची अहिले नआउने समाचारले जनतामा थप आक्रोस मात्रै जन्माएको छ । सरकारले त्यस्ता भ्रष्टहरु र अख्तियारका भ्रष्टहरुलाई समेत पनि तत्काल कारवाही गर्न सकेको छैन ।

तसर्थ फागुन ७ को सरकारी समारोहको औचित्य रहेको देखिएन ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्