Logo

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ (रासस) । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताउनुभएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उहाँले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताउनुभयो । सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उहाँले औँलाउनुभयो । संस्कृत भाषा विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको उहाँले औँलाउनुभयो । अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्व उत्तिकै हुने उहाँले औँल्याउनुभयो ।
“भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन”, उहाँले भन्नुभयो, “भाषा संरक्षण र प्रवद्र्धनका लागि एकपछि अर्काे पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।” प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको बताउनुभयो । उहाँका अनुसार भाषाको अवस्थाका बारेमा प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ ।
प्रतिष्ठानका पूर्वउपकुलपति वैरागी काइँलाले नेपालको पहिरन, वाद्ययन्त्र र भूगोल विविध भएकै कारण सुन्दर भएको बताउनुभयो ।
शताब्दी पुरुष सत्यमोहन जोशीले बगैँचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यही विभिन्न रङ्गका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तीनका भाषाले देश सुन्दर बनाएको औँल्याउनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले मातृभाषाको संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वर्षेनी कविता सम्मेलनको आयोजना भइरहेको बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले भाषिकालाई पनि भाषाका रुपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेकोे प्रष्ट पार्नुभयो ।
प्रतिष्ठानकी मातृभाषा साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले कविहरूले वाचन गर्ने कविता आगामी दिनमा पुस्तकका रुपमा प्रकाशित गरिने बताउनुभयो । संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनस्को) ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले भने आठ वर्षदेखि यो दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्