Logo
Logo

सातदोबाटोले उचाल्यो ‘बी’ डिभिजन लिगको ट्रफी


दृष्टि संवाददाता


काठमाडौं । दुई खेल अगाडी नै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा जीत निकालेको छ । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई एकका विरुद्ध शून्य गोल अन्तरले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । जीतसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । र, सातदोबाटो ‘ए’ डिभिजन लिगमा उक्लिएको छ । सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो ।

उपाधिसँगै सातदोबाटोले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा रहेको खुमलटारले १० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको बाँसबारीले ८ लाख र चौंथो भएको ब्वाइज युनियनले ५ लाख हात पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्