Logo
Logo

ब्लग : मैले बोल्नैपर्छ


दीपक भट्टराई


करिब २२ बर्ष भयो । माओवादी आन्लोलनमा सहभागी भएकै कारण शाही सरकारबाट मेरो बुबा मारिनुभयो । म ७ बर्षको थिएँ । सरकारी स्कुलमा २ कक्षामा पढ्थेँ । बुबाको हत्यापछि परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर भयो । पार्टी युद्धको मैदानमा थियो । हामीलाई माया गर्नेभन्दा हाम्रो दुःखबाट टाढिने धेरै थिए ।

आमा २९ बर्षको उमेरमा बिधुवा हुनुभयो । बिधुवा महिलालाई परिवार अनि समाजले हेर्ने दृष्टिकोण राम्रो थिएन । ममाथि एक दिदी हुनुहुन्छ । अनि मभन्दा मुनि ३ वर्षको भाइ थियो । जग्गा जमिन प्रसस्त थियो । घरमा हजुरबुबा हुनुहुन्थ्यो । कुनै पेसा नभएकाले म मामाघर बसेर पढ्न थालेँ ।


२०५८ सालमा शाही सरकारले संकटकाल लगायो । त्यही संकटकालपछि आमा गिरफ्तार हुनुभयो र एक महिनासम्म वेपत्ता पारियो । एक महिनापश्चात आमालाई रिहा गरेपछि म पनि आमासँगै घर आएँ । आमाको शरीरमा लठ्ठीका सुम्ला, निलडामहरु देख्दा धर्रधरी रोएँ । हाम्रो परिवारको अवस्था निकै दयनीय भइसकेको थियो, यतिसम्म कि घरमा नुन, तेल, मसलासम्म हुँदैनथ्यो ।

बिस्तारै दुःखका दिन पार गर्दै गयौँ । मैले दुःखमै एसएलसी पास गरेँ । प्राविधिक शिक्षा लिने चाहना थियो । तर, आर्थिक अवस्था अत्यन्तै कमजोर । प्लस–टू पढ्न मासिक ४ सय शुल्क लाग्थ्यो । तर, त्यति तिर्ने हैसियत पनि मेरो परिवारको थिएन ।

एकदिन लमजुङ जिल्ला पार्टीका सेक्रेटरी मेरो छिमेकी अंकल घरमा आउनुभयो । उहाँ बुबाको सहयोद्धा हुनुहुन्थ्यो । सदरमुकाम बेसी शहरमै बसेर पढाउने बन्दोबस्त गरेर आउनु भएको रहेछ । म राजी भएँ । घरबाट चामलको धोक्रो बोकेर अंकलसँगै भोलिपल्ट बेसी शहर गएको थिएँ । त्यहाँ अंकल र मेरो बुबाका थुप्रै परिचित साथीहरुसँग भेट भयो ।

बुबा बिर्साउने पार्टीका अंकलहरु देखेर खुसीको सिमा रहन्थेन । बुबा देखेजस्तै लाग्थ्यो, भेटेजस्तै लाग्थ्यो । सबैले छोरा भनेर बोलाउँथे । कति समय त उहाँहरुसँगै सुते पनि । उहाँहरुले कलेज भर्ना गरिदिनुभयो । मेरो लागि छुटै डेरा खोजिदिनुभएको रहेछ । बिस्तारा थिएन, कैंयौँ रात भुँइमा वाइसीएल क्याम्पबाट ल्याएको कम्बल ओढेर रात बिताएँ ।

महिना बित्यो, घरभाडा तिर्नुपर्छ भन्ने मलाई ज्ञान थियो । घरभेटीसँग बुझ्दा पार्टीले नै एक बर्षको भाडा १५ हजार तिरिसकेको रहेछ । कलेजको फी सधैँ पार्टीले नै तिरिदिन्थ्यो । खाजा खान मसँग पैसा हुँदैन थियो । कलेजको क्यान्टिनमा दैनिक १५ रुपैयाँको खाजा खुवाउने भनेर पार्टीले पैसा तिरिदिएको रहेछ । हरेक ३ महिनामा घर जाने बस भाडा पनि पार्टीले नै दिन्थ्यो, म त्यसरी घर पुग्थेँ ।

आमालाई रोग लागेको रहेछ । आमा कहिले पनि रोग लाग्यो भनेर सुनाउँनु हुन्नथ्यो । एक दिन घरको कुनामा बसेर रोइरहेको देखेँ । मातृआँशु कसैका लागि पनि सामान्य हुन सक्दैन । आज पनि ती दिन सम्झँदा मन भारी भएर आउँछ, आँखा रसाउँछन् । यो दुई लाइन लेखिरहँदा पनि ति पीडाहरु झलझल्ती आँखामा आइरहेका छन्, आँखा रसाइरहेको छ ।

म जागिर खान्छु अनि उपचार गरौँला भन्दै केही महिना आमालाई उपचारबाट रोकेँ । सानो जागिर पनि खाएँ । भर्खरै खुलेको गैह्सरकारी संस्थामा ३ महिना बेतलबी सेवा गरेँ । चौंथो महिनामा मलाई संस्थाले २० हजार दियो । अस्पताल जाने कुरो भयो ।
सोही २० हजार रुपैयाँ लिएर आमाको उपचार गर्न गण्डकी अञ्चल अस्पताल पुगेँ ।

आमालाई पाठेघरको ट्यूमर भएको रहेछ । चिकित्सकले अप्रेसन गर्न सल्लाह दिनुभयो । अप्रेसन गर्न ७० हजार खर्च लाग्ने भयो । एक महिनापछिको मितिमा अप्रेसन गर्ने कागज बोकेर सामान्य दुखाई कम गर्ने औषधि बोकी बस चडेर घर आयौँ । त्यति ठूलो रकम कसरी जुटाउने होला भन्ने चिन्ताले अधिक सतायो । मन भतभती पोलिरह्यो ।

मसँग ७० हजार जुटाउन सक्ने कुनै उपाय थिएन । एक महिनापछि आमालाई अस्पताल भर्ना गरेँ । मसँग बचेको १५ हजारमात्र थियो । मेरो मनमा सन्नाटा छायो । उपाय एउटामात्र थियो । मेरो बुबाले रगत बगाएको पार्टी ।

माओवादी आन्दोलनलाई बदनाम गराउँदै समाप्त पार्ने योजनाको मतियार भएर आफ्नै सहयोद्धालाई अनेक लान्छाना लगाउने गद्धार नेतृत्वको गतिविधिले म जस्ता धेरै शहीद परिवारको मन रुन्छ ।

मैले तत्कालीन जिल्ला सेक्रेटरी मोहनहरी पौडेलसँग दुःख बिसाएँ । त्यतिबेला हितराज पाण्डे राज्य समिति इन्चार्ज हुनुहुन्थ्यो । अनि हरी अधिकारी कुमार कमरेडसँग फोन लगाइदिनु भयो । उपचार गर्न लागेको खर्च पार्टीले व्यहोर्छ, भन्नुभयो ।

अस्पतालका इन्चार्ज बुद्धिबहादुर थापासँग कुरा भयो । सबै बिल भरपाई बुद्धिबहादुर थापाले हस्ताक्षर गरेपछि मात्र अस्पतालले औषधिलगायत विभिन्न उपकरण उपलब्ध गराउँथ्यो । आमाको सबै उपचार उधारोमा भयो । डिस्चार्जपछि सबै बिल भरपाई सेक्रेटरी कमरेड हरी अधिकारीलाई बुझाएँ ।

मेरो आफ्नो केही खर्चबाहेक ७२ हजार खर्च भएको रहेछ । त्यो सबै खर्च पार्टीले ब्यहोरेको थियो । मजस्ता थुप्रै परिवारका सदस्यलाई पार्टीले गरेको सहयोग कहाँबाट आयो भन्ने हामी सबैलाई थाहा छ । आज नेतृत्वलाई आर्थिक अनियमितताको लान्छाना लगाउनेहरुलाई पार्टीले आम नेता कार्यकर्ता र नेता कार्यकर्ताको परिवारलाई गरेको सहयोगबारे थाहा छ कि छैन ?

दुःख पर्दा जनताको सेवा गर्ने राजनीतिक नेतृत्वलाई सहयोद्धाबाटै भ्रष्टाचारजस्ता अवाञ्छित आरोप लगाइन्छ । माओवादी आन्दोलनलाई बदनाम गराउँदै समाप्त पर्ने योजनाको मतियार भएर आफ्नै सहयोद्धालाई अनेक लान्छाना लगाउने गद्धार नेतृत्वको गतिविधिले म जस्ता धेरै शहीद परिवारको मन रुन्छ । पीडाले बेस्मारी थिचेर ल्याउँछ ।

नेतृत्वमाथि पटक–पटक आर्थिक अनियमितताको झुटो लान्छाना लगाएर प्रहार हुँदै गर्दा मैले बोल्नैपर्छ, म जस्ता धेरैले बोल्नुपर्छ । बनोली बस्न सकिन्न । मेरो बुबाकोे रगतले रञ्जित आन्दोलनका योद्धा सबै ठीक हुन् भन्न सक्ने अवस्था होइन । तर, सबै नेतृत्व गलत भन्ने आँट दुनियाँमा कसैसँग छ भने हाम्रो अगाडि आए हुन्छ । न नीति लगत थियो, न नेतृत्व नै ।

नीति र नेतृत्व दुबै ठीक थियो । केही नेतृत्वमा विचलन आयो । माओवादी आन्दोलनको मुलप्रवाहबाट केही नेतृत्व विचलित भए । उनै, विचलित, स्खललित, गद्धार नेतृत्वबाट समग्र आन्दोलन र उपलब्धिलाई नै बदनाम गराउने कार्य हामीलाई स्वीकार्य छैन् ।

अन्त्यमा, मेरो बुबाजस्तै हजारौँको बलिदानमा वर्तमान व्यवस्था स्थापित भएको हो । मेरो बुबाले देखेको सपना अझै पूरा भएको छैन । धेरै बाँकी छ । बुबा र हजारौँ शहीदको सपना साकार पार्न म तयार छु । म जस्तै हजारौँ शीहद परिवार तयार छन् । नेतृत्व सच्चिनुपर्छ । हामी अझैँपनि तपाईहरुबाट आशा र अपेक्षा गर्छौँ । साथ दिन्छौँ । त्यसैले त भन्छु, ‘आदेश देउ प्रचण्ड अर्को युद्ध लड्न तयार छौँ ।’

शहीद पुत्र
दीपक भट्टराई
मध्यनेपाल–६, भोर्लेटार, लमजुङ
हाल : दोहा कतार

प्रतिक्रिया दिनुहोस्