Logo
Logo

‘मावली दिदी’ लोकार्पित


दृष्टि संवाददाता

189
Shares

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आएकी छन् । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो कथासङ्ग्रह मावली दिदीको बुधबार प्रज्ञा भवन, कमलादीमा आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्राज्ञ माया ठकुरी, कथाकार ढकालकी आमा लक्ष्मी अधिकारी, पति नेपाल प्रहरीका एसएसपी भीमप्रसाद ढकाल, पुत्र विप्लव ढकाल ‘विपु’लगायतले लोकार्पण गरेका थिए ।

लोकार्पणपश्चात बोल्दै प्रमुख अतिथि कुलपति उप्रेतीले कथाकार ढकाल ऊर्जाशील र सिद्धहस्त साहित्यकार भएको उल्लेख गरे । उनले भने– “मावली दिदीभित्र समाविष्ट विन्दुजीका कथाहरूमा समाजका विविध पक्ष मिहीन ढङ्गबाट प्रतिबिम्वित भएका छन् । एउटा पठनीय कृतिका रूपमा मावली दिदी आएको छ ।”

प्रज्ञा–प्रतिष्ठानको आख्यान विभाग प्रमुखसमेत रहनुभएकी वरिष्ठ कथाकार प्राज्ञ ठकुरीले मावली दिदी हाम्रै गाउँसमाजकी एउटी प्रतिनिधिमूलक पात्र भएको बताउँदै कथासङ्ग्रहभित्रका सबै कथाहरूले पाठकलाई तान्ने दाबी गरिन् ।

लोकार्पित कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै समालोचक डा. यज्ञश्वर निरौलाले सङ्ग्रहभित्रका सबै कथाहरू पठनीय रहेको उल्लेख गरे । उनले कथाकार ढकालले नयाँ शैलीबाट कथा वाचन गरेको बताए । धनकुटाको चुङमाङमा जन्मिएकी कथाकार अधिकारी ढकालको यसअघि ‘विन्दुहरू’ नामक कविताकृति प्रकाशित छ । मावली दिदी ब्रदर बुक्स पब्लिकेशनले प्रकाशन गरेको हो । सङ्ग्रहभित्र १५ ओटा कथा समाविष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्