Logo
Logo

बहराइनी राजकुमारलाई सगरमाथा आरोहण अनुमति


दृष्टि संवाददाता


काठमाडौं । वसन्त यामको सगरमाथा आरोहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) जारी गरेको छ । सो यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् ।

बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आरोहण अनुमति लिएका विभागले आज यहाँ जनाएको छ । सर्वोच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली गत चैत २ गते नेपाल आएको थियो ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड ९डिफेन्स फोर्स० मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ ।

वसन्त यामको सगरमाथा आरोहणका लागि पहिलो आरोहण अनुमति बहराइनी राजपरिवारका सदस्यसहितको आरोही समूहलाई दिइएको विभागको पर्वतारोहण शाखाका मदन विमलीले जानकारी दिए । उनका अनुसार बहराइनी आरोही समूह १६ जनाको भएकाले दुई समूह बनाएर अनुमति दिइएको छ । एक आरोही समूहमा बढीमा १५ सदस्य रहने प्रावधान छ ।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ ।

कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँदमा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्