Logo
Logo

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा


दृष्टि संवाददाता


काठमाडौं  । उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्वजनिक भएको छ । एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो ।

अझ संयुक्तराज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि “हामी यहाँ छौं” को शैलीमा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ । बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तर कोरियाले तनावको वातावरण सिर्जना गर्नेक्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ ।

उत्तर कोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिण कोरियाको संयुक्त भ्रमण गरिसकेका छन् ।  यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो ।

चीनको बढ्दो सामरिक प्रभाव र उत्तर कोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो ।

यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ । अर्थात् बाइडेन प्रशासनले उत्तर कोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ ।

यद्यपी न्यूयोर्क टाइम्सका पत्रकार चो साङ–हुनले अमेरिकाले आणविक अस्त्र कार्यक्रम त्याग्न उत्तर कोरियामाथि प्रतिबन्ध र संवादका दुबै प्रयत्नलाई निरन्तरता दिन सक्ने बताएका छन् ।

उत्तर कोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार ‘संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खतापूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी’ दिएका छन् ।

उत्तर कोरियाली अधिकारीबाट आएको यो चेतावनी नयाँ र नौलो भने होइन । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जोङले आणविक अस्त्रको विषयमा ‘दुर्गन्ध नफैल्याउन’ अमेरिकालाई चेतावनी दिएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस्