Logo
Logo

म्यानमारमा रोकिएन रक्तपात : सेनाको गोली लागेर शनिवार ९१ जनाको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । म्यानमारमा सेनाले गोली चलाउँदा शनिवार मात्रै ९१ जनाले ज्यान गुमाएका छन् । सैन्य कू विरोधी शान्तिपूर्ण प्रदर्शनमा म्यानमार सेनाले गोली चलाउँदा शनिबार एकैदिनमा ९१ भन्दा बढी प्रदर्शनकारी मारिएका हुन् ।

शनिबार विहान मारिने प्रदर्शनकारीको टाउको र ढाडमा गोली हानिएको जनाइएको छ । म्यानमारको नाउ न्यूज पोर्टलका अनुसार सुरक्षाकर्मीको गोली लागेर शनिबार ९१ जनाको मृत्यु भएको छ । माण्डलेमा ५ वर्षे बालकसहित २९ जनाको मृत्यु भएको छ । याङ्गुनमा मात्र २४ जना मारिएका छन् ।

थाइल्यान्डको सीमानेर म्यानमारको सशष्त्र आदिवासी समूह करेन नेसनल युनियनका एक कमाण्डर र लडाकुसहित १० थप मारिएका छन् । सैनिक प्रवक्ताले चाहिँ यो हताहतीबारे कुनै टिप्पणी गरेका छैनन् ।

सेनाले सत्ता आफ्नो हातमा लिएयता भएको प्रदर्शनमा शनिबारसहित चार सय जना सर्वसाधारणको ज्यान गएको जनाइएको छ । थुनामा राखिएकी लोकतन्त्रवादी नेतृ आङ साङ सू चीको रिहाइ माग गर्दै प्रदर्शनकारी सेनाविरुद्ध सडकमा छन् । सेनाविरुद्ध अहिले राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायले दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्