Logo
Logo

‘तालमेल नमिल्दा भद्रगोल हुन पुगेको छ’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘प्रतिगमनकारी’ भनेकाेमा आपत्ति जनाएका छन् । शुक्रबार मेलम्ची खानेपानी वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनको अर्थ नै नजान्नेहरु ‘प्रतिगमनकारी’ भन्दै हिँडेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘प्रतिगमन भनेको के हो ? परिभाषा नै नबुझी प्रतिगमन भयो भन्ने ? जनता अल्मल्याउने ?’ कोही शासनमा पुग्यो भने क्रान्ति भइहाल्ने, अनिा शासनमा पुग्न नसक्दा प्रतिगमन भनिदिने परिपाटी देखिएको भएको बताए ।

‘म प्रधानमन्त्री हुनुपर्छ भनेर अवैध बाटोबाट हिँड्ने अनि प्रधानमन्त्री हुन नसकेपछि प्रतिगमन हुन्छ ?’ नेकपा अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले जो प्रतिगमन भयो भन्दै हिँडेको छ, उनैलाई प्रतिगमन के हो भन्ने थाहा छैन । प्रधानमन्त्री हुन नपाएको रिसमा त्यतिकै भन्न पाइन्छ ?’

प्रधानमन्त्री ओलीले ‘संविधान मास्यो, च्यात्यो, गणतन्त्र खत्तम हुने भयो, लोकतन्त्र खत्तम हुने भयो, संघीयता त ध्वस्तै पार्न आँट्यो’ भन्नेजस्ता टिप्पणी गर्न थालिएको भन्दै त्यस्ता टिप्पणी व्यक्तिगत आकांक्षा पूरा नहुँदाको अभिव्यक्तिमात्र रहेको बताए ।

प्रधानमन्त्री ओलीले अहिले पनि सरकारलाई काम गर्न नदिइएको बताए । उनले काम गर्न नदिएपनि आफूहरुले ढुंगाको काप फोरेर मेलम्ची ल्याएको बताए ।
प्रधानमन्त्री ओलीले तालमेल नमिल्दा केही ढिलो काम भइरहेको बताए । प्रधानमन्त्री ओलीले भने, ‘तालमेल नमिल्दा केही कामहरु भद्रगोल हुनपुगेको छ । यहाँ एउटाले बाटो बनाउँदै जान्छ, अर्काले भत्काउँदै जान्छ । तर, अब त्यस्तो हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्