Logo
Logo

खदम खोला विवादले पुल निर्माणमा अवरोध


दृष्टि संवाददाता


बेलबारी । मोरङको केराबारी गाउँपालिकामा फेरि खोला विवाद उत्पन्न भएको छ । केराबारीको खदम खोलामा मापदण्ड विपरीत उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

केराबारीदेखि धरान जोड्ने मदन भण्डारी राष्ट्रिय राजमार्ग अन्तर्गत खदम खोलामा करिब ६४ करोडको लागतमा सम्पन्न हुने गरी पुल निर्माण कार्य सुरु भएपनि खदम खोला विवादले काम अवरोध भएको छ ।

खोला ठेकेदारहरूले आफूलाई नाफाको लागि पुल निर्माणमा अवरोध गरेको स्थानीयको आरोप छ । खोला ठेकेदारहरूले पुल निमार्णमा अवरोध पुग्ने गरी उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयले उत्खनन कार्य भएको ठाउँबाट ९ टिपर तथा मेसिनहरू ५ सय मिटर टाढा हटाएका छन् ।

केराबारी गाउँपालिका, गाउँ कार्यपालिकाको अनुरोध बोर्ड पनि त्यही स्थानमा दुइवटा राखिएको छ । अनुरोध बोर्डमा पुल बन्ने ठाउँबाट उत्तर दक्षिण दुवैतिर ५००/५०० मिटर नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने भएकोले उत्तरतर्फ उत्खनन कार्य गर्न निषेध गरिएको उल्लेख छ । तर, नियम विपरीत २५० मिटरको छेउछाउमा नै उत्खनन गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

गाउँपालिका मैन !

आफूहरूले यस विषयमा गाउँपालिकाका अध्यक्ष रोहित कार्कीलाई खबर गर्दा उनले चासो नै नदिएर स्थानीयले बताए । प्रहरीसमेत मूकदर्शक बनेको स्थानीयले आरोप लगाउँदै आएको छ । स्थानीय भन्छन्– ‘खदमको अवलोकन गर्दा मापदण्ड विपरीत उत्खनन भएको प्रस्ट देखिन्छ । गाउँपालिकाका अध्यक्ष र प्रहरीलाई समेत यस विषयमा हामीले जानकारी गरायौं । तर, हाम्रो कुरा कसैले पनि वस्ता गरेनन् ।’

यो विवाद भने पहिलोपटक होइन, खदममा उत्खनन कार्यको ठेक्का लागेसँगै विवाद उत्पन्न हुँदै आएको छ । स्थानीयले विभिन्न समयमा आन्दोलन गर्दै आएपनि अहिलेसम्म केही सुधार हुन सकेको छैन । ठेकेदार कम्पनी र जनप्रतिनिधिले प्राकृतिक स्रोतको उपयोगभन्दा विनाश गर्ने काम मात्र गरेको स्थानीयको आरोप लगाउँदै आएको छ ।

मापदण्ड विपरीत खोलामा उत्खनन नहोस् भनेर वर्षैदेखि पटकपटक आन्दोलन गरिरहँदा पनि केही सुधार नआएको भन्दै जनप्रतिनिधि देखी प्रहरी सबैको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता तथा सहयोग रहेको स्थानीयले आरोप लगाएका छन् ।

अप्रत्यक्ष रूपमा जनप्रतिनिधि तथा प्रहरी संलग्नताको आडलेनै ठेकेदारलाई मापदण्ड विपरीत काम गर्न हौसला मिलिरहेको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्