Logo
Logo

काठमाडौंमा मेलम्चीको पानी : पट्यार लाग्दो विगत, उमङ्गमय वर्तमान


प्रदीपराज दाहाल


काठमाडौं । २०४८ सालको चुनावी प्रचारको क्रममा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ‘म मेलम्चीको पानी ल्याएर काठमाडौंका सडक पखाल्छु’ भने । त्यो आश्वासनसँगै काठमाडौँवासीले सपना देखे- मेलम्चीको पानी पिउने । धेरैका लागि यो अप्रत्यासित योजना थियो । कहिले पूरा नहोला झै लागेको सपना थियो । तर, दुई दशकपछि त्यो सपना साकार भएको छ ।

मेलम्ची ‘किसुनजी’ अर्थात् कृष्णप्रसाद भट्टराईको सपना भनिन्छ । तर, उनले पनि २०४१ सालमै तयार भएको सम्भाव्यता अध्ययन सार्वजनिक कार्यक्रममा काठमाडौंमा मेलम्चीको पानी ल्याउने भनेका थिए । राजधानीमा जनसंख्या बढ्दै जाँदा पानी अपुग हुँदै गएपछि तत्कालीन खानेपानी विभागले वैकल्पिक स्रोतको खोजी गर्‍याे ।

त्यो सम्भाव्यता अध्ययनले दुई अर्बमा मेलम्चीको पानी काठमाडौं ल्याउन सकिन्छ भन्यो । सम्भाव्यता अध्ययनको जिम्मा अष्ट्रेलियन स्मेक कम्सल्टेन्ट कम्पनीलाई दिइयो । जसमा अन्य विकल्प नभएपछि सुरुङबाट काठमाडौँमा पानी झर्न सक्ने बताइएको थियो । त्यही अध्ययनपछि ४८ सालमा वानेश्वरमा भट्टराईले मेलम्ची काठमाडौँ ल्याउन सकिने बताएका थिए ।

२७ वर्षे अवधिमा नेपालमा १८ जना प्रधानमन्त्री भए । हरेक वर्ष सरकारले बजेट विनियोजन गर्यो । यही विषयलाई चुनावी एजेन्डा बनाइयो । तर, राजनीतिक अस्थिरताका कारण मेलम्चीको पानी पिउने सपना पुरा हुन २७ वर्ष लाग्यो । राजनीतिक अस्थिरताको असर मेलम्ची खानेपाली आयोजना पर्‍याे । काममा ढिलासुस्ती, ठेकेदार कम्पनीको अनेक बहानाबाजी, बन्द हडतालमै झन्डै तीन दशक बित्यो ।

२०७४ चैत २७ मा सुरुङ मार्गको ‘ब्रेक–थु्र’ भयो । प्रधानमन्त्री केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेकी विना मगरको कार्यकालमा २६ किलोमिटर सुरुङ खन्ने काम सकियो । त्यसपछि फिनिसिङको काम भयो । दुई महिनामा फिनिसिङ भएपछि नै मेलम्चीको पानी आउने लगभग निश्चित भयो ।

काठमाडौंमा पानीको हाहाकार तीन दशक अगाडी नै आकलन गरियो । त्यो दुरदर्शीताले आज काठमाडौंको घरघरमा मेलम्चीको पानी आइपुग्यो । यो तीन दशकको मेलम्ची मन्थन पट्यार लाग्दो छ । तर, मेलम्चीको पानी आएसँगै काठमाडौंवासीको मुहारमा खुसी छाएको छ ।

बहुप्रतिक्षित मेलम्ची आयोजनाको पानी दुई दशकपछि काठमाडौंवासीलाई वितरण गर्न थालिएको छ । ३० अर्ब रुपैयाँभन्दा बढी खर्च गरी मेलम्चीको पानी काठमाडौं ल्याएर चैत १६ देखि उपभोक्तालाई वितरण गरिएको हो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी वितरण सुरु भएको छ ।

तीन दशक पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको छ  । आइतबार चाबहिलको महाँकालचौरस्थित वितरण केन्द्रबाट सिफलदेखि त्रिपुरेश्वर र क्षेत्रपाटीसम्म पानी वितरण भएको छ । काठमाडौं उपत्यकामा खानेपानी समस्या हुन थालेपछि तीन दशकअघि नै विकल्पको खोजीले रंग ल्याएको छ ।

मेलम्चीको पानी ल्याउन कहिले के भयो ?

२०२९ साल : काठमाडौंमा खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न विश्व बैंकको सहयोगमा अध्ययन सुरु

२०४१ साल : परामर्शदाताको प्रतिवेदन– विभिन्न २२ विकल्पमध्ये मेलम्ची, लार्चे, याङ्ग्रीको पानी ल्याउने विकल्प उत्तम रहेको सिफारिस

२०५० साल : चुनावी प्रचारको क्रममा कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा

२०५५ साल : मेलम्ची खानेपानी विकास समिति गठन

२०५६ साल : एडिबीको सहयोगमा सम्भाव्यता अध्ययन

२०५८ साल : एडिबीसँग ऋण सम्झौता

२०५८ साल : निर्माण सुरु

२०५८ साल : हेनिल कोनको जेभीलाई सुरुङ बनाउन चाहिने प्रवेशमार्ग निर्माणको ठेक्का

२०६१ साल : काम गर्न नसकेको भन्दै हेनिलले एकलौटी ठेक्का तोड्यो

२०६१ साल : शाही आयोगमार्फत तत्कालीन राजा ज्ञानेन्द्र शाहद्वारा हस्तक्षेप

२०६१ साल : राज्यको हस्तक्षेपपछि नर्वे र स्विडेनको सिडद्वारा सहयोग फिर्ता

२०६४ साल : काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन

२०६४ साल : २७ किमि सुरुङ खन्न ग्लोबल टेन्डर

२०६५ साल : चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसी)लाई सुरुङ खन्ने ठेक्का

२०६६ साल : प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारद्वारा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा

२०६९ साल : सुरुङ निर्माणको काम १५ प्रतिशत मात्रै सकिएपछि सीआरसीद्वारा ठेक्का रद्द

२०७० साल : पुनः टेन्डर आह्वान

२०७१ साल : इटालियन कम्पनी सीएमसीलाई बाँकी कामको जिम्मा

२०७२ साल : भूकम्पका कारण १० महिना सुरुङ खन्ने काम रोकियो

२०७२ साल : पाइप बिच्छ्याउन सुरु

२०७३ साल : पुसमा पहिलो ‘ब्रेक थ्रु’को घोषणा

२०७५ साल : माघमा सीएमसीसँग ठेक्का तोड्ने आयोजना बोर्डको निर्णय

२०७७ साल : प्रधानमन्त्री ओलीद्वारा सुन्दरीजलमा मेलम्चीको पानी खसाल्ने कार्यक्रम उद्घाटन
२०७७ साल : चैत १५मा राजधानीका धारामा मेलम्चीको पानी

यसलाई हेर्ने हो भने पनि २०५५ सालमा परियोजना सुरु गरेयता १९ जना प्रधानमन्त्री परिवर्तन भए । ४८ वर्षको यात्रामा परियोजना बल्ल सफल सावित भएको छ । तर, पहिलो चरणमा भने सरकारले भने जत्तिको पानी वितरण गरेको छैन । किनकि यसलाई परीक्षणमा राख्दै विस्तारै बढाउँदै लैजाने योजना बनाइएको छ ।

अब मेलम्चीबाट आएको पानी सुन्दरीजलका दुई प्रशोधन केन्द्रबाट साढे आठ करोड लिटरका दरले दैनिक १७ करोड लिटर पानी प्रणालीमा जोडिनेछ । यसरी केयुकेएलको कूल आपूर्ति ३० करोड लिटर पुग्नेछ  । तर, खानेपानी वितरणको नयाँ प्रणालीमा कति चुहावट हुने हो ? पर्याप्त परीक्षण भएको छैन ।

नयाँ प्रणालीका लागि बिछ्याइएका ११ सय किलोमिटर पाइपमध्ये दुई सय किलोमिटर मात्र परीक्षण भएको छ । जसमा १५ प्रतिशत चुहावट हुने देखिएको छ  । पहिलो चरणको परीक्षण सफल भएसँगै शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्मित ढुंगेधाराको टुटी खोलेर मेलम्चीको पानी काठमाडौंमा आएको औपचारिक उद्घाटन गरेका छन् ।

कसरी हुँदैछ पानी वितरण ?

मेलम्चीको पानी चार चरणमा विभाजन गरिएको छ । त्यसअनुसार पहिलो चरणमा सरकारले केही स्थानमा मात्रै वितरण गरेको छ भने विस्तारै उपत्यका भरि वितरण हुनेछ ।

पहिलो चरण : आइतबार महाँकालचौरबाट चावहिल, बत्तिसपुतली, कालोपुल, देवकोटा सडक, सिफल, एयरपोर्टलगायतका क्षेत्रका घरघरमा पठाइयो । अनामनगर, मिनभवन, खुमलटारस्थित पोखरीमा भण्डारन गरियो ।

दोस्रो चरण : महाँकाल र बालाजुको पानी पोखरीबाट साढे ६ करोड लिटर दैनिक वितरण गरिने ।

तेस्रो चरण : बाँसवारी र महाराजगञ्जको पानी पोखरी समेत गरी साढे आठ करोड लिटर वितरण हुने ।

चौथो चरण : कीर्तिपुर, ठिमी र भक्तपुरस्थित पोखरीहरूमा समेत गरी १७ करोड लिटर पानी जम्मा हुने र ती पोखरीबाट चक्रपथभित्र र आसपासका क्षेत्रहरुमा पानी वितरण गरिने ।

यसरी पानी वितरण हुन थालेसँगै वर्षौ देखिको मेलम्चीको पानी पिउने र प्रयोग गर्ने नागरिकको अपेक्षा पूरा भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्