काठमाडौं । ललितपुर मेयर्स–११ ले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित निकालेको हो । टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ४५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय १७ रन मात्र बनायो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकी ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । जितसँगै ललितपुरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा ललितपुर सुदूरपश्चिमसँग पराजित भएको थियो । लुम्बिनीको यो पहिलो खेलमा पहिलो हार हो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५÷१५ हजार पाउने छन् ।