Logo
Logo

बाग्मती प्रदेश स्तरीय भूतपूर्व ‘सैनिक सम्मेलन-२०७७’ सम्पन्न


दृष्टि संवाददाता


काठमाडौं । बाग्मती प्रदेश स्तरीय नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ ।

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा ‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्ने मूल नाराका साथ महोत्तरीको बर्दिवासस्थित मध्य पूर्वी पृतना हे।क्वा।मा आयोजना भएको ‘प्रदेश स्तरीय भूपू सैनिक सम्मेलन–२०७७’ सम्पन्न भएको हो ।

सम्मेलनमा वाग्मती प्रदेश आठ जिल्लामा बसोबास गर्ने सात हजार ४३६ नेपाली सेनाका भूत पूर्वसैनिक तथा परिवारजनको सहभागिता थियो । प्रधानसेनापति थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यतालाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरे ।

अवकाश प्राप्त गरी सकेपछि पुनः रोजगारीका लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वदेशमा नै स्वरोजगारीका अवसर सृजना गरी परिवारसँगै सुखमय जीवनयापनका लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधिहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको बताएका थिए ।

कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका–३ पालुङ्ग, मकवानपुर निवासी ९८ वर्षीय पुरानो गोरख गणबाट अवकाश प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की, शम्शेर दल गणबाट अवकाश प्राप्त स्व सिपाही नन्दप्रसाद पाल्याको श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो ।

त्यसैगरी, सर्वोत्कृष्ट लघु व्यवसायी बन्न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका निवासी राजकुमार आचार्य लगायतलाई सम्मान गरिएको थियो । समारोहमा चार वा सोभन्दा बढी सन्ततिलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने आमा÷बुबालाई सम्मान गरिएको थियो । फरक क्षमता भएका तथा अशक्त ४९ जनालाई ह्विल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनाका साथै लघुवित्त कार्यक्रमअन्तर्गत महिला उद्यमशील कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्