Logo
Logo

कोरोनाका कारण यस वर्ष पनि रोकियो बिस्का जात्रा


दृष्टि संवाददाता


भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलने जोखिमलाई मध्येनजर गर्दै बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले गत वर्ष जस्तै यस वर्ष पनि बिस्का जात्रा रोक्ने निर्णय गरेको छ । गत वर्ष पनि बिस्का जात्राका सम्पूर्ण विधि विधानलाई रोकेर औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।

बैठकले बिस्का जात्रामा हजारौं भक्तजनको सहभागिता हुने र यसले कोभिड १९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्का जात्रा रोक्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भारतमा कोभिड १९ संक्रमण दर बढेकाले त्यसबाट नेपालमा पनि जोखिम बढ्ने भएकाले जात्रा रोक्न बाध्य भएको बताए ।

अहिले कोभिड १९ को दोस्रो लहरअन्तर्गत कोरोना भाइरसको नयाँ शक्तिशाली प्रजाति आएकाले त्यसबाट जोगिन जात्रा रोक्ने निर्णयमा पुगेको स्पष्ट पारे ।

डीसीसीएमसीको निर्णयानुसार बिस्का जात्राअन्तर्गत हुने खट जात्रासमेत गर्न पाइने छैन । भक्तपुरमा यस वर्ष यहीं चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदै थियो । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यी दुई रथमा छानामात्रै राख्न बाँकी छन् ।

यसअघि भक्तपुर प्रशासनले बैकल्पिक उपाय अपनाएर भए पनि बिस्का जात्रा सञ्चालन गर्ने जनाएको थियो । जसअनुसार गुठी संस्थान भक्तपुर कार्यालयले भैरवनाथ तथा भद्रकालीको रथ निर्माणलाई तीव्रता दिएको थियो।

बैठकले बिस्का जात्रासँगै भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न नगराउनसमेत अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्