काठमाडौं । चौथो बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले जितेको छ । अफ्रिकन रुट्स एसोसिएसन (एआरए) लाई ३–२ गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि हात पारेको हो ।
थ्रि स्टारलाई उपाधि जिताउनको लागि कप्तान रुपेश केसी, मनिष डाँगी र निशान खड्काले समान एक/एक गोल गरे । एआरएको लागि एमफोम र मौसाले गोल गरे ।
खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी टोलीलाई अग्रता दिलाएका थिए । २९ औं मिनेटमा मौसाले गोल गर्दै क्यामरुनी टोलीलाई २–० ले अघि बढाए ।
पहिलो हाफमा केहि कमजोर प्रदर्शन गरेको थ्री स्टारले दोस्रो हाफमा भने सानदार पुनरागमन गर्यो । मनिष डाँगीले ५८ औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई खेलमा फर्काए । त्यसको तीन मिनेटपछि नै निशान खड्काले फ्रिकिकमा गोल गर्दै २–२ को बराबरीमा ल्याए ।
इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोले गर्दै कप्तान केसीले थ्रि स्टारलाई उपाधि दिलाए । अफ्रिकनका डिफेन्डरले मनिष डाँगीको प्रहारलाई हातले रोकेपछि रेफ्री पेनाल्टी दिएका थिए ।
प्रतियोगिताको विजेता थ्रि स्टारले उपाधिसहित ८ लाख रुपैयाँ प्राप्त गरेको छ ।