Logo
Logo

बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

सभ्य र शान्तिपूर्ण रूपमा बिस्का: चलाउने भक्तपुर नगरपालिकाको पनि निर्णय


दृष्टि संवाददाता


काठमाडाैं ।  सर्वोच्च अदालतले भक्तपुरमा मनाउने बिस्का: जात्रा नरोक्न अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयले बिस्का: जात्रा नगर्न गरेकाे निर्णय विरूद्ध अधिवक्ता राजकुमार सुवालले दिएको रिटमा न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले  जात्रा नरोक्न अन्तरिम आदेश गरेको हो।

आदेश नआएको भएपनि भक्तपुरवासीले भने जात्रा सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबार मात्रै भक्तपुर नगरपालिकाले पनि सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको थियो । जात्रा चैत २८ बाट हुँदैछ । नगरपालिकाद्वारा बुधबार डाकिएको बैठकले रथ तान्ने र यसिं (लिंगो) पनि ठ्ड्याउने निर्णय गरेको थियो ।

बैठकले जात्रा सञ्चालनको प्रत्यक्ष प्रसारण टेलिभिजन, रेडियो, एफ.एम र सामाजिक सञ्जालमार्फत् गर्ने र अनुशासित र मर्यादित रूपमा स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न गर्न माइकिङ गरी सबैसँग आग्रह गर्ने पनि निर्णय गरेको छ ।

जिल्ला प्रशासनले एकलौटी रुपमा निर्णय गरेको भन्दै स्थानीयले केही दिन यता विरोध र्‍याली र जनसभाहरु गर्दै आएका थिए। मंगलबार टौमढीमा भेला भएर स्थानीयले प्रहरी कार्यालय बाहिर धर्ना दिएका थिए।

बुधवार भने उनीहरुले नगरपालिका बाहिर नाराबाजी गर्नुका साथै ङातापोलमा उभिएर विरोध प्रदर्शन गरेका थिए । स्थानीयले नगरपालिका र प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्दै बिस्का गर्न दिने निर्णयको स्वागत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्