Logo
Logo

अझै मेलम्चीको पानी वितरण भएन


दृष्टि संवाददाता


काठमाडाैं । मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौँ उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुनसकेको छैन । काठमाडौँ उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यन्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण शुरु हुन नसकेको हो ।

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा ‘क्रसिङ’ मा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुरलगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उहाँका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ । उनले भने, ‘कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ ।’ लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ र त्यो बनिसकेपछि त्यहाँ पानी वितरण हुनेछ ।

मध्यपुरमा क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ । त्यो ‘सेटिङ’ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताए । उनका अनुसार त्यहाँ काम शुरु भएको दुई साता भयो । अबको दुई सातामा पानी वितरण गर्न सकिने उनले बताए ।

राष्ट्रिय गौरबको मेलम्ची खोपानी आयोजना निर्माण शुरु भएको दुई दशकमा सम्पन्न भएपछि अहिले उपत्यकामा पानी ल्याइएको छ । मेलम्चीको पानी काठमाडौँसम्म ल्याउन सुरुङ, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी आयोजनाको हो । यसमध्ये सुरुङ र प्रशोधन केन्द्र सम्पन्न भएकाले पानी वितरण भइरहेको छ ।

सुन्दरीजलबाट उपभोक्ताका घर–घरसम्म पानी वितरणका लागि आवश्यक ट्याङ्की र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ ।

निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएकामा अहिलेसम्म नौ ट्याङ्की निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा निर्माण भइरहेको छ । यी सबै पोखरीमा निर्देशनालयले परीक्षणसमेत गरिरहेको छ । अहिले उपत्यकामा अधिकांश स्थानमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्