Logo
Logo

पर्वतका ३२ वनमा आगलागी


दृष्टि संवाददाता


पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ ।

जिल्ला वन कार्यलयको तथ्याङ्कअनुसार पर्वतका करीब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै हावाहुरी बढी चल्ने हुँदा आगो उडाएर घर तथा वन क्षेत्रमा आगलागी हुने गरेको वन कार्यलयले जनाएको छ । कार्यलयका अनुसार पर्वतमा वर्सेनि सयौँ हेक्टर जमीनमा आगलागी हुने गरेको छ ।

वनमा लागेको आगलागीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । डिभिवन वन कार्यलय पर्वतका प्रमुख मेघराज पौडेलका अनुसार समयमा पानी नपर्नु र मानिसको हेलचक्क्र्याइँले गर्दा वनमा धेरै डढेलो लागेको हो ।

मानिसले व्यक्तिगत जग्गामा पातपतिङ्गर पोलेर छाड्दा होस् या सडक बढारेको फोहर नालीमा फालेर आगो लगाउँदा होस् यस्तो समयमा धेरै आगलागी हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको छ । आगलागी भएका वनमा सामुदायिक नै धेरै छन् । पौडेलले भने, “जनचेतना र प्रचारप्रसारको कमी हुँदा वनमा धेरै आगलागी भएको छ । यसको नियन्त्रणका लागि कार्यलय सक्रियताका साथ लागेको छ ।”

पौडेलले सबै सरोकारवाला निकायको समन्वय, सामुदायिक वनको सञ्जाल, स्थानीय प्रशासन र स्थानीय बासिन्दासँंगको समन्वयमा आगलागी हुने वित्तिकै निभाउन जाने गरिएको बताए ।

पछिल्लो समय डिभिजन वन कार्यालयले माइकिङ, रेडियो तथा पत्रपत्रिकाबाट प्रचारप्रसारलाई तीव्रता दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्