Logo
Logo

संघीय निजामती सेवा ऐन पास नगर्न चेतावनी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भई संसदमा पुगेको संघीय निजामती सेवा ऐन तानाशाही र अलोकतान्त्रिक रहेकाले पास नगर्न चेतावनी दिएको छ।

मंगलबार नेपाल निजामती कर्मचारी युनियन(संघ) को राष्ट्रिय भेला तथा विधान अधिवेशन २०७७ बाट पारित काठमाडौं घोषणा पत्रका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन लोकतन्त्र विरोधी रहेको बताए।

ऐनले संविधानलाई नै उलंघन गरेको तथा कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति, विकास लगायतका विषयमा अलोकतान्त्रिक तवरले तानाशाही व्यवस्था कायम गरिएको भन्दै ऐन पास भए कर्मचारीहरू आन्दोलनमा उत्रिने पोखरेलले चेतावनी दिए। राष्ट्रिय भेलाले ऐनको विरुद्धमा देशव्यापी रूपमा हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ।

सरकारले निजामती प्रशासनलाई विघटन गरेर आफू अनुकुलका कर्मचारीहरूलाई करारमा नियुक्त गर्ने चेष्टा गरेको अध्यक्ष पोखरेलले बताए। नेपाल निजामती कर्मचारी युनियन(संघ) का उपाध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा ऐनले ट्रेड युनियनको अधिकारलाई हनन् गरेको बताए।

श्रेणीविहीन कर्मचारीको वृत्ति विकासको व्यवस्थालाई कुण्ठित गरिएको पनि उनको भनाइ छ। करार कर्मचारीहरूलाई स्थायी बनाउनुपर्ने आफूहरूको मागको सम्बोधन गर्न उनले सरकारलाई ध्यानाकर्षण पनि गराए।

सरकार नायब सुब्बाको वृत्ति, विकास र बढुवामा गम्भीर नभएको पनि उपाध्यक्ष कटुवालले बताए। ट्रेड युनियनको अधिकारका लागि नेपाल निजामती कर्मचारी युनियन(संघ)ले जस्तोसुकै आन्दोलन गर्न तयार रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्