Logo
Logo

देवर भाउजुबीच सिस्नुपानी छ्यापेर विषु पर्व मनाइँदै


नन्दा थापा


बाजुरा । आज विक्रम संवत् २०७८ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता र असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

फाइल तस्वीर

इतिहासकार प्रा. डा. दीनेशराज पन्तका अनुसार मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको पाइन्छ । नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भएपनि व्यवहारमा इस्वी संवत चलेको उनको भनाइ छ ।

विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको हो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले बताए ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको छ । सौरमान र चन्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो ।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरिले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइन्छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखाली पूण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

सुदुरपश्चिम बासीले भने देवर भाउजुबीच सिस्नुपानी छ्यापेर सुदूरपश्चिम क्षेत्रमा रमाइलो गरी आज विषु पर्व मनाइँदै छ । विषु पर्वका दिन सिस्नुपानी छ्यापेमा शरीरमा रहेका बाथ पित्तलगायतका रोग निको हुने जनविश्वासका साथ देवर भाउजु र सालीलाई यस पर्वमा सिस्नुपानी छ्याप्ने गरिन्छ ।

बिहानै घरनजिकका तालतलैया अथवा तीर्थमा गएमा नुहाएर शरीरमा रहेको फोहरमैला बगाउने, बालबालिकाको कपाल खौरिने, विवाह व्रतबन्ध गर्ने र मन्त्रोच्चारण गर्ने दिनका रुपमा विषु पर्वलाई लिइने गरिएको छ ।

आजको दिन नुहाएमा शरीरको विष फालिने भएकाले रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ । विषु पर्वमा दिदीबहिनीलाई बोलाई नयाँ अन्नबाट बनेका सेल, पुरी, खिर, मासुलगायतका विशेष परिकार घरमा तयार गरी परिवारका सदस्यसँगै बसेर खानेसमेत यस पर्वमा गरिन्छ ।

विदेश भएका पनि यस पर्वका अवसरमा घर फर्केर परिवारसँग रमाइलो गरी बिताउने गर्दछन् । वर्ष दिनमा एकै दिन भएपनि आज मासु भने अनिवार्य खाइन्छ । यसै अवसरमा नयाँ कार्यको थालनी र पुराना कार्यको समीक्षा गर्ने, नयाँ वर्षका लागि नयाँ पारिवारिक योजना बनाउने यहाँको समाजमा चलन रहेको छ ।

आजको दिन आफन्त परिवारजन सँगै बसेर मिठो मसिनो पकाएर खाने, सँगै रमाईलो गर्ने र वर्ष भरीका योजना निर्माण गर्ने, राम्रो कामको सुरुवाद गर्ने गरिन्छ । बिशुमा आर्य समुदायका अन्य सम्पूर्ण पर्वहरुको समिश्रण रहेको छ । मिठोमसिनो खानपान, ठुलाबडाको आशिर्वाद, बिभिन्न धार्मिक कार्यक्रम तथा पुजाआजा पनि हुने भएकाले बिशुको महत्व बढी रहेको छ ।

आज बाघ खेल खेल्ने, लठ्ठी पुजेर रमाईलो गर्ने, लोक देउडा खेल्ने लगायतका आ–आफ्नै मौलिक किसिमबाट बिशु मनाउने प्रचलन छ । बाजुरा, डोटी, अछाम, बझांङ्ग बैतडी, दार्चला लगायत कर्णाली प्रदेशका जिल्लाहरुमा बाघ खेल तथा देउडा खेल खेलेर मनोरंजन गर्ने परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्