Logo
Logo

नेपालमा दैनिक ८ करोड ४० लाख चुरोटमा खर्च


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व बृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ ।

स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रुपमा शुक्रबार राजधानीमा आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताए ।

राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महँगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पु¥याउनुपर्ने जोड दिए ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई नियन्त्रण गर्न सकिने धारणा राखे । सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महँगो पर्ने भएपछि सेवन पनि कम हुने उनको भनाइ थियो ।

‘हामीकहाँ अन्य देशको तुलनामा सस्तोमा चुरोट पाइन्छ’ उनले भने, ‘सस्तोमा पाइने भएकाले शोखका रुपमा पनि मानिसले चुरोट सेवन गर्दछ । राजस्व बढाएर महँगो बनाउने हो भने कम सेवन गर्दछन् ।’

उनले स्वास्थ्य तथा जनसङ्ख्या र अर्थमन्त्री दुवैसँग राजस्व बढाउने विषयमा आफूले छलफल गर्नेसमेत जानकारी दिए ।

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा नै भन्दा सस्तो दरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुन्छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले नेपालको कूल जनसङ्ख्याको २८ प्रतिशत मानिसले धूमपान सेवन र दैनिक रु आठ करोड ४० लाख चुरोटका खिल्ली सेवन गर्ने गरेको तथा वार्षिक रु एक खर्ब ५३ अर्ब चुरोटको धुवाँमा खर्च हुने गरेको जानकारी दिए ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले भने, ‘राजस्व बढाउने कुरा सकारात्मक हो । हामीलाई नि फाइदा हुन्छ ।’ उनका अनुसार कूल राजस्वको पाँच प्रतिशत सुर्तीजन्य पदार्थबाट उठ्ने तथा वार्षिक रु १८ अर्ब राजस्व सुर्तीजन्य पर्दाथबाट सङ्कलन हुने गरेको छ ।

काठमाडौँ महानगरीय प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरीक्षक सन्दीप भण्डारीले सार्वजनिक स्थानमा धूमपान गर्नेलाई प्रहरीले कारवाही गरिरहेको जानकारी दिए । उनका अनुसार यस वर्ष ३८ हजारलाई सम्झाइबुझाइ गरिएको तथा २०० कक्षा लिइएको र सात हजार १८७ लाई कारवाही गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले १५ देखि ६९ वर्ष उमेर समूहका व्यक्तिले बढी धूमपान सेवा गर्ने गरेको जानकारी दिए । उनले १८ वर्षको उमेरमा ७८।८ प्रतिशत मानिसले धूमपान गरेको पाइएको जानकारी दिए ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रेमराज वैद्यले चुरोट सेवनबाट २६ प्रकारका रोग निम्तिने जानकारी दिए । उनले चुरोट खाने हरेक पाँच जनामा एक जनामा क्यान्सर हुने जनाउँदै एउटा चुरोटले सेवन गर्ने व्यक्तिले २० जनालाई असर पु¥याउने बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले राजस्व बढाउँदा धूमपानमा पनि कमी आउने विभिन्न अध्ययन देखाएकाले राजस्व बढाउनुपर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्