Logo
Logo
त्रिकोणात्मक सिरिज

नेदरल्यान्ड्समाथि नेपालको शान्दार जित, कुशल र आसिफको कीर्तिमानी ब्याटिङ


दृष्टि संवाददाता


काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्समाथि शान्दार जित निकालेको छ ।

शनिबार टीयू मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो । जितको लागि १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

तस्वीर : अनलाइन खबर

नेपाललाई शान्दार जित दिलाउनको लागि डेब्यू गरेका दुबै ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट अर्धशतकीय इनिङ खेले । कुशलले ४६ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक६२ रनको योगदान दिए । आसिफ शेख ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ५४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।

नेदरल्यान्ड्का मध्यक्रमका ब्याट्सम्यान बास डी लिडेले ४९ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ४१ रनको योगदान दिएका थिए । स्कर्ट एडवार्डसले ३० रन जोडेका थिए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए । शाहाब आलम र सोमपाल कामीले समान एक/एक विकेट लिए ।

नेपालले सिरिजको दोस्रो खेलमा मलेसियासँग वैशाख ६ गते खेल्नेछ । तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग वैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेलमा वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्