Logo
Logo

आइपीएलः दिल्लीसँग पञ्जाब पराजित


दृष्टि संवाददाता


काठमाडौं । इन्डियन प्रिमियर लिग ( आइपीएल) टि–२० क्रिकेटमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
गएराति भएको खेलमा १ सय ९६ रनको लक्ष्य पाएको दिल्लीले पञ्जाबलाई १८ ओभर २ बल खेल्दै ४ विकेट गुमाएर पूरा गर्यो ।

ओपनर शिखर धवनले ४९ बल खेल्दै १३ चौका र २ छक्का मद्दतमा दिल्लीका लागि सर्वाधिक ९२ रन बनाए । यस्तै अर्का ओपनर पृथ्वी शाले ३२ रन योगदान गरे । दिल्लीका लागि डेब्यु गरेका स्टेभ स्मिथ ९ रन बनाएर आउट भए । कप्तान ऋषभ पन्तले १५ रन जोडे ।

मार्कुस स्टोइनिस अविजित २७ रन बनाए । ललित यादव १२ रनमा अविजित रहे । पञ्जाबका रिचर्डसनले २ तथा अर्शदीप सिंह र रिले मेरेडिथले समान १ विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । पहिलो विकेटका लागि मायांक अग्रवाल र कप्तान लोकेश राहुलले १२.४ ओभरमै १२२ रनको साझेदारी गरेका थिए ।

तर यी दुई खेलाडी आउट भएपछि पञ्जाबको रन गति रोकियो । अग्रवालले सर्वाधिक ६९ रन बनाए । उनले ३६ बल खेल्दै ७ चौका र ४ छक्का प्रहार गरे । राहुलले ६१ रन जोडे । दीपक हुडाले अविजित २२ रन बनाए । शाहरु खानले अविजित १५ रन जोडे ।

बलिङमा दिल्लीका क्रिस वोक्स, कागिसो रबाडा, लुकमन मेरिवाला र आभेष खानले १/१ विकेट लिए । दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्