Logo
Logo
काेराेनाकाे दाेस्राे लहर

सुदूरपश्चिम प्रदेशमा श्वाब दिनेको भीड, नतिजामा ढिलाई


हिक्मत बम


धनगढी । कोरोना संक्रमणले तीव्र रूप लिएपछि सुदूरपश्चिम प्रदेशका स्वाब संकलन केन्द्रमा स्वाब दिन आउनको भीड लागेको छ । स्वास्थ्यकर्मीका अनुसार गाउँस्तरसम्म कोरोना फैलिएपछि स्वाब दिन आउनेको भीड लाग्न थालेको हो ।

प्रदेशको सीमित स्थानीय तह र प्रयोगशालामा स्वाब संकलन भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमणले आक्रान्त बन्दै गएको सुदूरपश्चिममा २२ हजार भन्दा बढी परीक्षण विना नै सीमाबाट नेपाल भित्रिएपछि स्वाब संकलन केन्द्रमा स्वाब दिन आउनेको भीड लाग्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

केही दिनदेखि कोभिड परीक्षण गराउन स्वाब दिन जाने मान्छे बढेपनि परीक्षण नतिजा आउन ढिलाइ भएको सेवाग्राहीले बताएका छन् । प्रदेशका अस्पतालले शय्या, अक्सिजन र उपकरण अभाव खेपिरहेका बेला स्वास्थ्य प्रयोगशालामा समेत जनशक्ति आभाव देखिएको छ ।

गर्मी बढेसंगै उकालो लागेको दोस्रो लहरको कोरोना संक्रमणको गति कहिले नियन्त्रण हुने हो पत्तो नै छैन । तर, सुदूरपश्चिमका जिल्ला अस्पताल र निजी अस्पताल भने कोरोनाका बिरामीले भरिभराउ भएका छन् ।

संक्रमण दैनिक रूपमा बढ्दै गएपछि प्रदेशका अस्पतालका आइसीयू र भेन्टिलेटरमा बिरामी भरिएसंगै दोब्बर संक्रमित अक्सिजनको अभावमा आइसीयूको पर्खाइमै लाइनमा बस्नु पर्ने बाध्यता छ ।

चुरे गाउँपालिका वडा नम्बर १ का एक स्थानीयले कोरोना संक्रमण गाउँस्तर सम्म फैलदै गएपछि आफू स्वाब परीक्षण गर्न गाउँपालिकाको स्वाब संकलन केन्द्रमा गएको र स्वाब परीक्षणमा पनि ढिलाई भएसंगै नतिजापनि आउन ढिलो भएको बताएका छन् ।

तर, प्रदेशभरका स्थानीय तह र प्रयोगशालामा समेत स्वाब संकलन भइरहेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको दाबी छ । सामाजिक मन्त्रालयका अनुसार स्वाब परीक्षण गरेर नतिजा सक्दो छिट्टै दिन प्रत्येक प्रयोगशालाहरुमा भनिएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा प्राविधिक जनशक्तिको अभाव छ । यो वर्ष सेती अस्पतालको प्रयोगशालामा मात्रै नभएर महाकाली अस्पताल र प्रदेशमा रहेका आठवटै प्रयोगशालामा जनशक्ति अभाव छ ।

अछामको कमलबजार र बझाङ जिल्ला अस्पतालमा रहेको प्रयोगशालमा जनशक्तिको अभावका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
‘प्रदेशका प्रयोगशालाहरुमा जनशक्ति अभाव छ । जनशक्ति व्यवस्थापन गर्न प्रयास भइरहेको छ । गत वर्ष भएका जनशक्ति यताउता भएका छन’ प्रदेश प्रयोगशाला प्रमुख रामप्रसाद ओझाले भने ।

समुदायस्तरमा कोरोना देखिन थालेपनि प्रयोगशालामा भइरहेको जनशक्ति अभावले भने नमुना थन्किन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्