Logo
Logo

प्रधानमन्त्रीसँग मन्त्रीहरु असन्तुष्ट


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता भएको आगामी चैत ३ गते १० महिना पुग्दैछ । तर सरकारमा सहभागी पूर्व माओवादीका मन्त्रीहरुले एउटै पार्टीको जस्तै ब्यवहार प्रधानमन्त्री केपी शर्मा ओलीबाट महसुस गर्न नपाएको कुरा निकटस्थहरुसँग सेयर गर्ने गरेका छन् । पूर्वमाओवादीबाट ओली सरकारमा ७ मन्त्री र १ राज्यमन्त्री छन् । ती मध्ये अधिकांश प्रम ओलीसँग सन्तुष्ट छैनन् । ओली सरकारमा गृहमन्त्री रामबहादुर थापाले आफ्नो मन्त्रालयमा त्यति हस्तक्षेप भएको महसुस गरेका छैनन् । अरु मन्त्रीको अवस्था नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छाबाबुको अनुहार भन्ने उखानजस्तै जस्तै छ । प्रधानमन्त्री ओलीले नियुक्तिदेखि हरेक कुरामा हस्तक्षेप गरेको गुनासो उनीहरुको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले विद्युत नियमन आयोगको अध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लगे । तर प्रधानमन्त्री ओलीले उनको प्रस्ताव ३ महिना अलपत्र पारी अन्ततः नियुक्ति नै गरेनन् । मन्त्री पुनले आयोगको अध्यक्ष बनाउने आश्वासन दिएपछि उपाध्यायले २०७५ मंसिर १९ मा अवधि बाँकी छँदै सचिवबाट राजीनामा दिएका थिए । आफैं सचिव हुँदा विद्युत नियमन आयोगका पदाधिकारीका लागि मापदण्ड र प्रक्रिया बनाएकाले उनलाई नियुक्ति नगरिएको तर्क पनि गरिएको छ । कतिपयले भने मन्त्री पुनले प्रधानमन्त्री ओलीसँग नसोधी उनको नियुक्ति प्रस्ताव लगेकोले रोकिएको तर्क पनि गरेका छन् । उपाध्यायसहितका चार सदस्यको नियुक्ति रोकिएपछि मन्त्री पुन नैतिक संकटमा परेका छन् । तर उनले नैतिकताका आधारमा राजीनामा नगरी आयोगको अध्यक्षमा अर्को ब्यक्तिलाई अगाडि सार्ने तयारी गरेका छन् ।
बैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशकमा एमाले पृष्ठभूमिका मधुसुदन अधिकारीलाई नियुक्त गरेपछि विद्युत नियमन आयोगमा उपाध्यायलाई लाने पक्षमा प्रधानमन्त्री सकारात्मक हुने अपेक्षा मन्त्री पुनको थियो । तर उनको अपेक्षाविपरीत प्रधानमन्त्री ओलीले उपाध्यायको नियुक्ति नै गरिदिएनन् ।
वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको अवस्था पनि उस्तै छ । मन्त्रालयका सचिव विश्वनाथ ओलीको अगाडि उनी निरीह जस्तै छन् । जिल्ला वन अधिकृत सरुवा समेत उनले भनेअनुसार हुँदैन । वनमन्त्रालयमा अधिकारका हिसाबले सचिव मन्त्री भन्दा शक्तिशाली छन् । सचिव ओली समाजका पदाधिकारी पनि भएकाले उनको कनेक्सन सिधै प्रधानमन्त्रीसँग छ ।
कृषि मन्त्री चक्रपाणि खनाललाई प्रधानमन्त्री ओलीले काम गर्न नसक्ने मन्त्री भनेर सार्वजनिक कार्यक्रममा भाषण नै गरिसकेका छन् । उद्योग मन्त्री मातृका यादवको मन्त्रालय अन्तर्गतको औद्योगिक क्षेत्र ब्यवस्थापन लि को अध्यक्षमा उनलाई थाहा नै नदिई नन्दकिशोर बस्नेतलाई ठाडो नियुक्ति गरेपछि नै स्पष्ट भइसकेको छ । प्रधानमन्त्री ओलीका सल्लाहकार बिष्णु रिमालले मुख्यसचिव लोकदर्शन रेग्मीसँग मिलेर बस्नेतलाई ठाडो नियुक्ति गरेपछि मन्त्री यादवको हैसियत स्पष्ट भएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालकै बुहारी भए पनि खानेपानी तथा सरसफाइ मन्त्री विना मगर पनि त्यति सन्तुष्ट छैनन् । सचिव गजेन्द्र ठाकुरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सीएमसीसँग कमिसन मागेकाले भागेको थाहा पाएपछि सरुवा गर्न खोजिन् । तर सचिव गजेन्द्र ठाकुरको कनेक्सन प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार घनश्याम भट्टराईसँग भएकाले सरुवा नै गरिएन । पछि अध्यक्ष दाहालकै भिटो प्रयोग भएपछि मात्र ठाकुरको सरुवा भयो ।

प्रतिक्रिया दिनुहोस्