Logo
Logo

तनाव कम गर्न जेष्ठ नागरिकले गरे मास्क लगाएर डेटिङ


दृष्टि संवाददाता


काठमाडौं । अमेरिकामा एक्लै बस्ने जेष्ठ नागरिकहरु कोरोना भ्याक्सिनको दोस्रो मात्रा लगाएपछि अब प्यारको खोजीमा भौंतारिन थालेका छन् । अहिले उनीहरु आफूलाई पूर्ण रुपमा सुरक्षित महसुस गरिरहेका छन् ।

गतवर्ष महामारीको बेला उनीहरु एक्लै घरमा बस्न बाध्य थिए । अहिले आएर उनीहरुलाई एक्लोपनका कारण आफ्नो सहयात्रीको कति आवश्यक हुन्छ भन्ने महशुस भएको छ ।

अमेरिकाको दक्षिणी भू–भागमा बस्ने ६० वर्षका स्टेफन पास्कीले ४ हजार २ सय ७० किलोमिटरको दूरी पार गरी क्यालिफोनिर्यामा रहेकी ५७ वर्षकी मिस लेन्जसँग ३ अप्रिलमा विवाह गरे । अमेरिकामा ६५ वर्षका ८० प्रतिशत जेष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाइएको छ । यो स्थिति अहिले सामान्य भएको छ । एक्लै बस्ने यस्ता व्यक्तिहरु आफ्नो तनाव कम गर्नका लागि छिटोभन्दा छिटो जीवनसाथी पाउन चाहन्छन् ।

अमेरिकामा आजभोलि डेटिङ साइटमा पनि यो उमेर समूहका १५ प्रतिशत बढी मानिसहरु बढेका छन् । ६४ वर्षका शिक्षक क्याथरिन पामर ८ अप्रिलमा भ्याक्सिनको दोस्रो मात्रा लगाइसकेकी छन् । उनी हरेक शनिवार डेटिङमा मास्क लगाएर जान्छिन् । त्यसो त उनी सामाजिक दूरीको पनि ख्याल गर्छिन् । महामारीले प्यार पाउने फेरि एकपटक मौका दिएको र आफू यस मौका गुमाउने पक्षमा नभएको उनको भनाई छ । उनलाई आफ्ना पति नहुँदा जीवन साह्रै छोटो लागेको थियो । उनले आफू त्यसप्रकारको तनाव फेरि पनि सामना गर्न नसक्ने भन्दै एक साथीको खोजीमा लागेकी बताईन् ।

यस्तै तर्क क्यालिफोनिर्यामा बसोबास गर्ने ग्राफिक डिजाइनर मिस लेन्जको पनि छ । उनी भन्छिन्, ‘लकडाउन भएपछि म आफ्ना पिताका साथ फिलाडेल्फियामा थिएँ । घर फर्किँदा जीवन एक्लै बिताउन गाह्रो भयो । त्यसपछि डेटिङ् साइटमा मैले आफ्नो रुचीको प्रस्ताव देखेँ र स्टेफेन पास्कीलाई पाएँ ।’ उनलाई भेट्न स्टेफेनले कोशौं दूरी पार गरेका थिए । उनलाई पास्की सबैभन्दा राम्रो लाग्यो ।

८२ वर्षका जीम ब्रायन, ६३ वर्षकी एन मास समेत जेष्ठ नागरिक हुन् । उनीहरु पनि जीवनको यस क्षणमा कुनै प्रकारको दिक्दारी चाहँदैनन् । कार्नेगी मेलन युनिभर्सिटीका प्रोफेसर वेफ गलक महामारीका समयमा यो उमेरका मानिसहरुले नै सबैभन्दा धेरै तनाव र एक्लोपन व्यहोरेका छन् तर भ्याक्सिन लगाएपछि उनीहरुले आफूलाई सुरक्षित महशुस गरेको बताउँछन् । उनीहरुमा बाँच्ने इच्छा प्रवल भएको छ, यो नै राम्रो सन्देश भएको उनको तर्क छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्