Logo
Logo

महिला क्याम्पस प्रमुख नियुुक्तिको माग गर्दै त्रिवि उपकुलपति कार्यालयमा तालाबन्दी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ फागुन । महिला क्याम्पस प्रमुख नियुक्तिको माग गर्दै त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा सोमबार तालाबन्दी गरिएको छ । पदमकन्या क्याम्पस बागबजारका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

पदमकन्या क्याम्पस प्रमुखका लागि सिफारिस भएका नाममध्येबाट महिला क्याम्पस प्रमुख नियुक्त गरिदिनहुन उपकुलपति कार्यालयमा पटक पटक ध्यानाकर्षण गराउँदा र २१ पेज पेज लामो हस्ताक्षर समेत बुझाउँदा सकारात्मक निर्णय नगरेको उल्लेख छ ।

पदमकन्या क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थीको भावनाविपरीत निर्णय गरेमा आफूहरुको सहमति नहुने कुरा समेत उल्लेख गरी ज्ञापनपत्र नै बुझाइसकेको स्मरण गराएका छन् । तालाबन्दी गर्नुपर्नाको कारणबारे उपकुलपतिलाई सम्बोधन गरिएको पत्रमा उल्लेख छ– हस्ताक्षर बुझाउने, ज्ञापनपत्रदेखि ध्यानाकर्षण गराउँदा सम्म सुनुवाइ नभएपछि तालाबन्दी गर्नुपरेको हो । तालाबन्दीको पनि बेवास्ता गरी पदमकन्या क्याम्पसमा महिला प्रमुख नियुक्ति नगरेमा उपकलुपति कार्यालयमा हुने खालका घटना दुर्घटनाको जिम्मा सबै उपकुलपतिले नै लिनुपर्ने कुराको जानकारी पनि गराइएको छ ।

यसैबीच, नेपाल बिद्यार्थी संघ र महिला प्राध्यापक तथा कर्मचारी संजाल पद्मकन्या बहुमुखी क्याम्पसले आइतबार १०९औं नारी दिवसको अवसरमा ‘राज्यको हरेक तहमा ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनका चुनौतीहरु’ बिषयक बिचार गोष्ठी आयोजना गरेको थियो ।
राज्यका हरेक तहमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलाको सहभागिता हुने भनिए पनि प्राज्ञिक तहमा अझै ३३ प्रतिशत समेत सहभागिता नपुगेको यस क्षेत्रका महिलाहरुले बताएका छन् ।
पद्यमकन्या बहुमुखी क्याम्पसको नेविसंघ इकाईले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी प्राज्ञिक क्षेत्रका महिला, सांसद तथा अधिकारकर्मीहरुले उक्त कुरा बताएका हुन् ।
विशेष गरी त्रिभुवन विश्व विद्यालयसहित अन्य विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा प्राध्यापन तहमा महिलाको सहभागिता कम रहेको उनीहरुको भनाइ थियो । कार्यक्रममा जनाइए अनुसार त्रिभुवन विश्वविद्यालयको ६१ वटा आंगिक क्याम्पसमध्य नर्सिङ विषयका क्याम्पस बाहेक अन्यमा महिला प्रमुख छैनन् ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पुष्पा भुसालले राजनीतिक तहमा बाध्यकारी व्यवस्थाका कारण कम्तिमा ३३ प्रतिशत सहभागिता कार्यान्वयन भएपनि प्राज्ञिक लगायतका तहमा नभएको बताइन् ।
त्यसैगरी कार्यक्रममा सञ्चारिका समूहकी उपाध्यक्ष कमला पन्थीले महिला सहभागिता बढाउन नीति बनाउन आवश्यक भएपनि मानसिकतामा परिवर्तन नभइ सहभागिता कार्यान्वयन नहुने बताइन् । उनले भनिन्, ‘महिलाको कम्तिमा ३३ प्रतिशत सहभागिता सुनिश्चितताको लागि नीति बनाउन आवश्यक छ । तर, सोच परिवर्तन नभए भएका व्यवस्था कार्यान्वयन हुँदैन ।
कार्यक्रममा नेविसंघको क्याम्पस इकाइ पूर्व सभापति इन्दिरा तिवारी आयोजक इकाइ सभापति साधना घिमिरे लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्